गहना लुट्न कञ्चनपुरमा महिलाको हत्या
2023/11/23, 3:11
 
fghj

गरगहना लुट्नका लागी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलेको छ । घर नजिकैको जंगलमा घाँस काट्न गएकी जोशीको गत कार्तिक १९ गते हत्या भएको थियो । सोही ठाउँका महेश डगौरालाई हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा डगौराले नै जोशीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले बताए । लागुऔषधका प्रयोगकर्ता समेत रहेका डगौरा अपराधिक क्रियाकलापमा संलग्न थिए ।

उनले १४ कार्तिकमा झलारीका महेश भट्टको साइकल समेत चोरेका थिए । उनी भारतीय नागरिकलाई लुटपाट गर्ने कार्यमा संलग्न थिए । प्रहरीका अनुसार जोशी एक्लै घाँस काट्न जंगल जाने क्रममा उनले पिछा गरेका थिए । नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि एकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्विकार गरेको प्रहरीको बयानमा उल्लेख छ । महिलाको हत्यापछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरी उपरिक्षक थापाले बताए ।

प्रहरी अनुसन्धान अनुसार हत्या गरेकै दिन महेशले धनगढी बोराडाँडीमा रहेको एलएक्स क्लबका संचालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रिका लागि छलफल गरेको देखिन्छ, कान र नाकमा लगाएका तीन थान गहना तीन पसलमा बेचेको देखियो । महेश २० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए । प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर मंसिर १ गते पक्राउ गरेको जनाएको छ । सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीस्थित ईन्द्र बराल (सुनार)ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको छ ।

सुन बिक्रिका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र निरज भट्टलाई पठाएको पाइएको छ । चौधरीले निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए । तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्यापछि १ दशमलव ५० आनाको फुली, १ दशमलव ६९ आनाको मुन्द्रा र २ दशमलग ७ सय आनाको अर्के मुन्द्रा लुटपाट भएको थियो । नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्रबहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।

सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँचजना विरुद्ध फरकफरक मुद्दा आकर्षित हुने बताए। महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार र सुन पसलधनीहरु विरुद्धमा गैरकानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ ।