सुदूरपश्चिममा लगानी सम्मेलनको लोगो बनाउने प्रतियोगिता, उत्कृष्टलाई २५ हजार ५ सय दिने
2023/11/28, 8:39
 
ss

आगामी फागुन २३ र २४ गते हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका लागि लोगो बनाउने प्रतियोगिता हुने भएको छ। आर्थिक मामिला मन्त्रालय, सुदूरपश्चिमले मंगलबार सूचना प्रकाशित गर्दै सो प्रतियोगितामा सहभागी हुन चाहनेले ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ। सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको भावसँग मिल्ने गरी लोगो निर्माण तथा उपयुक्तताको दावी सहित लोगोको विषयमा १०० देखि ३०० शब्दमा नबढ्ने गरी लोगोको विस्तृत विवरण पठाउन मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ।

सो प्रतिगोगिताबाट छनोट भएका उत्कृष्ट लोगो निर्माणकर्तालाई पुरस्कारको समेत व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। उत्कृष्ट लोगोलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने पनि मन्त्रालयले बताएको छ। छनौट गरिएको लोगो कुनै पनि आकारमा प्रयोग गर्ने, पुनरुत्पादन र पुनः प्रयोग गर्ने अधिकार सुदूरपश्चिम प्रदेश र सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको सचिवालयलाई हुने पनि बताएको छ।सुदूरपश्चिममा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ।

सम्मेलन आयोजना गर्न मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा आयोजक मूल समिति गठन गरिएको छ। मूल समितिमा संघीय संसदका सांसदहरू, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका सभामुख उपसभामुख, प्रदेश सभा सदस्यहरू रहेका छन्। सम्मेलन आयोजनाका लागि अन्य तीन वटा समिति पनि गठन गरिएका छन्। प्रतिनिधिसभा सदस्य आरजु राणा संयोजक रहेको सल्लाहकार समिति, प्रदेश मन्त्री प्रकाश देउवा संयोजक रहेको निर्देशक समिति र आर्थिक मामिला मन्त्री नरेशकुमार शाही संयोजक रहेको कार्यकारी समितिसमेत गठन गरिएको छ।