९ करोड खर्चिएको महेन्द्रनगरको सीटी हल जीर्ण बन्दै
2023/11/29, 11:55
 
ss

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरमा रहेको सिटी हल जीर्ण बन्न थालेको छ। तत्कालीन महेन्द्रनगर नगर विकास समितिले करिब ९ करोड लगानीमा निर्माण गरेको सभागृह सञ्चालन नहुँदा जीर्ण बन्दै गएको हो ।

रंग रोगन गरेर चिटिक्क पारिएको बडेमानको यो भवनले भीमदत्तको नेतृत्वलाई गिज्याइरहेको छ । सीटी हलका नामले चर्चित सभागृह अलपत्र छोड्दा मौलाउँदै गएको सरकारी ढुकुटीको दुरुपयोग गर्ने प्रवृत्तिलाई उजागर गरेको छ ।नगर विकास समिति विघटन भएर नगरपालिका मातहत आएपछि सञ्चालनको जिम्मेवारी भीमदत्त नगरपालिकाको काँधमा छ ।

वि।सं। २०६५ सालदेखि निर्माण सुरु भएको सभागृहको काम सकिन एक दशक समय लागेको थियो । श्याम सुन्दर गौरी पार्वती निर्माण कम्पनीले ठेक्का पाएको सभागृहले ५ विघा क्षेत्रफल जमिन चर्चेको छ । कोरोना महामारीको संकटकालीन समयमा उपयोग बिहीन र बन्जर अवस्थामा रहेको सिटी हललााई तत्काल कोरोना अस्थायी अस्पताल बनाइएको थियो ।

सभागृह सञ्चालनमा भीमदत्तको कर्मण्यताले सरकारी लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । एक हजार बढी मानिस अटाउन सक्ने क्षमताको सभागृह सञ्चालनमा नआउँदा कुनै ठूलो कार्यक्रम गर्नुपरे होटेल, पार्टी प्यालेस र सार्वजनिक स्थल खोज्नुपर्ने बाध्यता छ । ठूलो लगानी खर्चेर निर्माण भएको भौतिक संरचना निर्माणताको उद्धेश्यअनुरुप सञ्चालनमा ल्याउनका लागि पहलकदमी लिन जरुरी छ ।