कैलालीमा हत्या गरेको आरोपमा १४ जना पक्राउ परेका छन्। विवाहमा गएको एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयकैलालीका सहप्रवक्ता गणेश नाथका अनुसार लम्कीचुहा नगरपालिका –९ घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा गएका बेला गएराति कैलालीको घोडाघोडी नगरपालिका –२ का २६ वर्षीय मोहन अधिकारीमाथि कुटपिट भएको थियो। कुटपिटबाट घाइते युवकको उपचारको क्रममा ज्यान गएको उनले बताए ।
प्रहरीका अनुसारअधिकारी मंगलबार लम्कीचुहा नगरपालिका ९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए। त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए। प्रहरीका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेका थिए। ‘उनीहरू धेरै संख्यामा थिए। मदिराले लठ्ठ थिए। मोहनका साथीहरू भने धेरै रहेनछन्। त्यसैले उनीमाथि त्यो समूहले निर्घात कुटपिट गरेछ,’ इन्स्पेक्टर नाथले भने।
कुटपिटबाट घाइते भएका उनको टाउको र खुट्टामा चोट लागेको थियो । अचेत अवस्थामा रहेका मोहनको उपचारको लागि लालरत्न अस्पतालबाट मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो।तर, मेडिकल कलेज अस्पताल कोहलपुरले उनलाई कैलालीको टिकापुर अस्पताल रिफर गरेकोमा आज बिहान साढे ७ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले घोराघाटका २३ वर्षीय विवेक भुल, २२ वर्षीय विवेक भुल, वर्ष २२ का सन्तोष परियार, वर्ष २४ का गणेश भुल, वर्ष १५ का पिन्टु चौधरी, वर्ष २२ का दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्कीलाई पक्राउ गरेको छ । यसैगरी, लम्कीचुहा नगरपालिका –९ का २८ वर्षीय बिर्ख भुल, वर्ष २४ का सोनु साउँद, वर्ष २३ का चक्र कुँवर, २० वर्षका अकेश कुँवर, वर्ष २३ का निवन केसी, वर्ष २५ का रामलाल चौधरी र वर्ष २४ का विशाल सुनार पनि पक्राउ परेका छन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लम्कीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता नाथले जानकारी दिए ।