बैतडीदेखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटोफिचर)
2023/11/30, 11:21
 
ss

नेकपा एमालेले आजबाट ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सुरु गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर संकल्प यात्राको उद्घाटन गरेका हुन्।

ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ। कार्यक्रममा महासचिव शंकर पोख्रेलले मध्य पहाडि लोकमार्गका जनतासँग साक्षात्कार गर्ने उल्लेख गरे। उनले नेपालको मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमाले लागि पर्ने बताए। उनले भने, ‘मध्यपहाडि क्षेत्रको एमालेले अध्ययन गर्ने छ। समृद्धि र विकासको खाँका तयार बनाउनेछ।’ केन्द्रीय कमिटी बैठकले संकल्प यात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको हो।

यस यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू पनि टोलीमा सहभागी छन्। बैतडीको झुलाघाटबाट सुरु हुने यो अभियान पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित समापन हुने छ। मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन लागिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ।

बैतडीमा पनि तयारी तीब्र पारिएको छ। संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिका प्रतिनिधिहरू अभियान केन्द्रित खटिएका छन्। नेकपा एमालेले संकल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटलाई रोजेको छ। बैतडीको झुलाघाटबाटै समृद्धिको विगुल फुकिने एमालेले जनाएको छ।

देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्र रहेको र यसको सुरुवाती बिन्दु झुलाघाट नै रहेकाले यसले थुप्रै सम्भावनालाई पहिल्याउने एमालेको दाबी छ।जलस्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै भएकाले समृद्धिको आधार नै मध्यपहाडी क्षेत्रमा रहेको संकेत गर्ने एमालेका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताए। समृद्धिको बलियो आधार नै पहाडी क्षेत्रमा रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको भण्डारीले बताए।