विपिन परिवार हमास-इजरायलको पुनः युद्धले चिन्तितः भन्छन्, बाटो हेर्दाहेर्दै थाकिसक्यौं
2023/12/02, 11:46
 
ss

कञ्चनपुर भीमदत्त नगरपालिका–३ का विपिन जोशी युद्धविरामका बिच रिहा हुने आशा राखिएकोमा हमास र इजरायलबीचको युद्ध पुनः सुरु भएको छ । मंसिर ७ मा इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासले अस्थायी युद्धविराम गरेका थिए।

तर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी रिहा भने भएनन् । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीले हमासको नियन्त्रणमा रहेका छोरा विपिन जोशी रिहा हुनेमा आशावादी रहेपनी मुक्त नभएको बताए ।उनले युद्धविराम भएकै दिनदेखि हमासले बन्धक बनाएकाहरूलाई छोड्न सुरु गरेपछि उनको आशा झन् बढ्दै गएको थियो।

तर बन्धक बनाइएका विपिन पनि मुक्त हुन्छन् र पारिवारिक मिलन होला भनेर बाटो हेर्दै बसेको बताए। तर छोरा रिहा नहुँदै अस्थायी युद्धविराम भंग भएपछि भने महानन्द पुनः चिन्तामा डुबेको उनले बताए । शुक्रबारदेखि हमास र इजरायलबीच पुनः युद्ध सुरु भएको छ ।विपिन पनि मुक्त हुन्छन् आशा रहेकोले पुनः युद्ध सुरु भएपछि के पो हुने हो भन्ने चिन्ता बढेको बताए।

उनले विपिनको बाटो हेर्दाहेर्दा थाकिसकेको र सरकारले पनि छुटाउने गरी पहल समेत नगरेको उनको दुखेसो छ ।युद्धविरामकै अवधिमा जोशी परिवारले परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेटेका थिए । यसैसाता गृहजिल्ला आएका मन्त्री साउदसँगको भेटमा महानन्दले विपिनलाई सकुशल छिटोभन्दा छिटो ल्याइदिन आग्रह गरेका थिए । हामी पहल गरिरहेको र इजरायलका विदेशमन्त्रीसँग पनि कुरा भइरहेको भनेकोमा अहिले केही नभएको उनको भनाई छ।

आक्रमणको घटना भएकै दिनदेखि यही कुरा सुन्दै आएकोले पहल मात्रै नभई छोरालाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् । चारदिने युद्धविराम थपिँदै गएपछि छोरा छुट्ने आशा गरेका उनी यतिबेला फेरि निराश भएका हुन् । विभिन्न देशले कूटनीतिक पहलबाट आफ्ना नागरिक छुटाएको भन्दै उनले नेपालले पनि त्यही अनुसारको पहल गर्न नसकेको गुनासो गरे । गत असोज २० मा विपिनलाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो। लामो समयसम्म उनको बारेमा कुनै जानकारी नआउँदा परिवार निकै चिन्तित छ।

पछिल्लो समय इजरायल सरकारले नै विपिन हमासको नियन्त्रणमा रहेको सार्वजनिक गरेपछि जोशी परिवारले केही राहत महसुस गरेका हुन्। छोरा सकुशल छ कि चोटपटक लागेको छ कि, यस्तै कुराले सताइरहने गरेको उनले बताए। बझाङमा शिक्षण पेसामा संलग्न महानन्द छोराकै चिन्ताले विद्यालय जान सकेका छैनन् ।

इजरायल र हमास समूहबीच भएको एक साताको युद्धविरामका बेला एक सयभन्दा बढी बन्धक छुटिसकेका छन् । अझै त्यति नै संख्यामा बन्धकहरू हमासको नियन्त्रणमा छन् । कृषि फार्ममा काम गरिरहेका बेला हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई त्यहींबाट हमासले नियन्त्रणमा लिई बन्धक बनाएको हो ।सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत साउन अन्तिम साता इजरायल गएका थिए ।