सुदूरपश्चिममा एक वर्षमा २५२ नयाँ एचआइभी सङ्क्रमित थपिए
2023/12/03, 11:34
 
ss

सुदूरपश्चिममा एक वर्षमा २५२ नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय, कैलालीको तथ्याङ्क अनुसार एक वर्षमा साढे दुई सय नयाँ एचआइभी सङ्क्रमित सुदूरपश्चिममा फेला परेका हुन्। गत आर्थिक वर्ष २०७९÷०८० मा सुदूरपश्चिमका नौ जिल्लामा गरिएको परीक्षणमा एक सय तीनजना महिलासहित दुई सय ५२ जनामा एचआइभी पोजिटिभ देखिएको छ।

सबैभन्दा बढी कैलालीमा एक सय पाँच, कञ्चनपुरमा ५३, अछाममा २८ र डोटीमा २४ जनामा सङ्क्रमण देखिएको छ। बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एक जनामा एचआइभी पोजिटिभ देखिएको निर्देशनालयको तथ्याङ्क छ। प्रदेशभरि हालसम्म चार हजार ७१७ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन्।

कैलालीमा हाल एक हजार ७०९ जना एआरटी उपचारमा रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका एचआइभी फोकलपर्सन देवराज जोशीले बताए । गत आर्थिक वर्षभरि प्रदेशमा एचआइभी सङ्क्रमित २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसंख्यकको मृत्यु भएको उनले बताए। अछाममा पाँच सय ९२, डोटीमा चार सय ८५, कञ्चनपुरमा चार सय १५, बैतडीमा एक सय २१ र डडेल्धुरामा एक सय आठ जना सङ्क्रमित एआरटी उपचारमा रहेका तथ्याङ्क छ। अन्य जिल्लामा उपचारमा रहेका सङ्क्रमितको सङ्ख्या सयभन्दा कम छ।

प्रदेशका सबै जिल्लामा गरी १७ वटा एआरटी सेन्टर छन्। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले पहिलेको तुलनामा हाल सङ्क्रमित नियन्त्रणको अवस्थामा रहे पनि अझै न्यूनीकरणका लागि धेरै काम गर्नुपर्ने बताए। नियमित औषधि सेवन गरेर खानपानको आनीबानी सुधार गरे सङ्क्रमित पूर्ण जीवन बाँच्न सक्ने उनले बताए।

सुदूरपश्चिम एचआइभी सङ्क्रमण उच्च रहेको क्षेत्र हो। यहाँबाट भारतीय रोजगारीमा जानेको सङ्ख्या धेरै रहेकाले पनि सङ्क्रमण फैलिएको देखिन्छ। भारतमा काम गर्दा असुरक्षित शारीरिक सम्पर्कले सङ्क्रमित हुने र उनीहरू घर फर्केपछि सङ्क्रमण भएको थाहा नपाएर श्रीमतीलाई सारेको उदाहरणहरू सुदूरपश्चिममा भेटिन्छन्। सङ्क्रमित आमा बुबाबाट पनि बालबालिकामा एचआइभी सङ्क्रमित हुने गरेको छ।  गत वर्ष प्रदेशभरि एक लाख ४४ हजार ६ सय ४९ जनामा एचआइभी परीक्षण गरिएको थियो।