गोदावरीमा गोठे मल खाल्डो सुधार अभियान सञ्चालन
2023/12/04, 10:48
 
ss

गोठे मललाई व्यवस्थित तरिकाले संकलन गर्न कैलालीको गोदावरी नगरपालिका – ११ र १२ मा गोठे मल खाल्डो सुधार अभियान सञ्चालन गरिएको छ । व्यवस्थित तरिकाले मल संकलन नगरिँदा गोठे मलबाट बालीलाई पुग्नुपर्ने जति फाइदा नपुगेकाले अभियान सञ्चालन गरिएको हो ।

गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि विकास सहकारी संस्थाले आइतबार देखि गोदावरी नगरपालिका – १२ को कालुमोडाबाट सुरु गरेको उक्त अभियानमा अन्तरगत किसानहरूलाई गोठे मलबाट पर्याप्त फाइदा लिनका लागि खाल्डो कसरी सुधार गर्ने भन्ने विषयमा जानकारी दिइने सहकारीका अध्यक्ष कृष्ण बहादुर विकले बताए ।

उनले किसानहरूले परम्परागत रुपमा संकलन गरेको गोठे मलबाट पाउनुपर्ने जति पोषक तत्व बिरुवाले नपाउने भएकाले त्यसलाई सुधार गर्ने विधिका बारेमा किसानहरूलाई जानकारी दिन अभियान सञ्चालन गरिएको बताए । अभियान अन्तरगत किसानको घरमै गएर गोठे मलको खाल्डो सुधारका बारेमा जानकारी दिइने छ ।

‘यस क्षेत्रका अधिकांश घरमा गाई, भैंसी, बाख्रा बाल्ने गरिएको छ । तर, त्यसबाट प्राप्त हुने गोठे मलको भने उचित संकलन गर्न नजान्दा किसानहरूले मिहेनत गरे अनुसारको लाभ लिन सकिरहेका हुँदैनन्’ अध्यक्ष विकले भने ‘किसानले धेरै मिहेनत गर्दा पनि मलमा भएको पोषण तत्व जोगाउनका लागि आवश्यक प्राविधिक ज्ञान नहुँदा नोक्सानी बेहोर्दै आएकाले हामीले गोठे मल खाल्डो सुधार अभियान सञ्चालन गरेका हौ ।’

उनले किसानहरूले गोठे मलको उचित संकलन गर्न नजान्दा मलमा भएको बिरुवाका लागि आवश्यक पोषक तत्व खेर गइरहेको बताए । उनले उचित तरिकाले गोठे मल संकलन गर्न नजान्दा उल्टै किसानहरूले प्रयोग गरेको मलबाट रोग किराको प्रकोप बढिरहेको बताए । उनले नपाकेको मल बारीमा प्रयोग गर्दा बालीमा धमिरा लगायतका रोगको प्रकोप बढेकाले त्यसको सुधारका लागि अभियान आवश्यक भएको बताए ।

‘पुर्खौ देखि हामीले गाईगोरु पाल्ने, त्यसको मल खेतमा प्रयोग गर्दै आएका छौ’ उनले भने ‘हामीले पुर्खौ देखि गर्दै आएको काममा मिहेनत धेरै भएपनि त्यसमा केही त्रुटि गर्दा मिहेनत गरे अनुसारको लाभ लिन सकिरहेका थिएनौ । जसको सुधारका लागि हामीले अभियान सञ्चालन गरेका छौ ।’ रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्नको लागि पनि गोठे मल खाल्डो सुधार अभियान सञ्चालन गरिएको उनले बताए । उत्पादन बढाउने मल गोठेमल नै भएकाले त्यसको सही प्रयोग भए अन्य मलको प्रयोग आवश्यक नपर्ने उनले बताए ।

अभियानलाई सम्पूर्ण सहकारीमा आवद्ध किसानको घर घर सम्म पु¥याउनको लागि सहकारीकी उपाध्यक्ष बसन्ती विकको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिले प्राविधिक सहित किसानको घरमा पुगेर गोठे मलको कसरी खाल्डो सुधार गर्ने भन्ने बारेमा जानकारी दिने छ ।

संयोजक विकले सहकारी मार्फत तरकारी खेती कार्यक्रम पनि सञ्चालन गरिएकाले गोठे मल खाल्डो सुधार अभियानले किसानलाई दोहोरो फाइदा पुग्ने बताइन् । उनले अभियान सहकारीका कृषि समुहहरूमा सञ्चालन गरिने बताइन् ।

अभियानको पहिलो दिन दुर्गा समुह र लालीगुँरास समुहका महिलाहरूको सहभागिता रहेको थियो । अभियान सञ्चालनका लागि सहकारीबाटै कृषि प्राविधिक परिचालन गरिएको सहकारीका व्यवस्थापक गणेश बहादुर विकले बताए । उनले सहकारीले एक जना कृषि प्राविधिक नियुक्त गरेर विगतदेखि नै बिभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिदै आएको बताए ।