दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच
2023/12/05, 11:11
 
ss

दार्चुलाको नौगाड गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ। गाउँपालिकाको वडा नम्बर २ का विभिन्न बस्तीहरुमा ट्रान्समिटरसहित लाइन तान्ने काम सम्पन्न गरेपछि दल्लेख लगायतका अन्य बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको हो।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले गाउँपालिकाको वडा नम्बर २ अन्तरर्गत पर्ने दल्लेख धार, बेडुपाल, टोलमा सोमवारदेखि प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिए। उक्त क्षेत्रका दुई बस्तीमा सोमवारबाट ट्रान्सफरमर चार्जगरी विद्युत सेवा सुचारु गरिएको उनले बताए।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार दुई वस्तीका २५ घरधुरीमा मात्रै राट्रिय प्रसारण लाइनको पहुँच पुगेको जनाएको छ। बाँकी रहेका घरधुरीहरुमा समेत विद्युत विस्तारको काम निरन्तर रुपमा संञ्चालन हुने प्राधिकरणले जनाएको छ। यि दुई गाउँमा पहिले ग्रामीण लघुजलविद्युत आयोजना संञ्चालनमा रहेको थियो।

सोमवारदेखि राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन्। जिल्लामा हाल सम्म १७ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको पहँुच पुगेको प्राधिकरण प्रमुख सापकोटाले बताए। बाकी रहेका घरधुरीहरुमा समेत विद्युतीकरण गर्ने तयारी भइरहेको उनले बताए। केन्द्र सरकारले दार्चुला जिल्लामा अबको दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ जिल्लामा केही समय पहिले १० देखि १२ हजार विद्युतका पोलहरु ढुवानी गरेको जनाएको छ।