कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी
2023/12/07, 11:48
 
kailalai bhansar

कैलाली कञ्चनपुरका ईट्टा व्यवसायीहरुले भारतबाट आउने मैली अर्थात गट्टुको भन्सार नगर्न कैलाली भन्सार कार्यालयलाई आग्रह गरेका छन् । इट्टा व्यवसायी तथा उद्योग बाणीज्य संघ कञ्चनपुरका पूर्व अध्यक्ष लोक बिक्रम थापाले मैली अर्थात गट्टुले वातावरणीय प्रदुषण बढाएको बताए ।

उनले भन्सार कार्यालयले समेत यसमा बदमाशी गरि रहेको बताए । भन्सार कार्यालयको वर्गीकरणमा दरबन्दी नै नभएको, सो सामानको कुनै कोड नै नभएकोले भन्सारले अन्य कोड मार्फत सामान पास गराईरहेको उनको भनाई छ । सामान मैली अर्थात गट्टु ल्याएर हार्मोनियम कोड कोइला, बिग्रेट्स, बगासे पेलेट्स लगायतका राखेर भन्सार पास गराइरहेको र अहिले पुनः सो सामान आएकाले त्यसलाई रोक्न आफुहरुले भन्सार प्रमुखसंग आग्रह गरेको बताए ।

यस्तै जयकाली इट्टा उद्योग प्राली धनगढीका सञ्चालक मदनराज पनेरुले मैली अर्थात गट्टुको प्रयोग गरेर उत्पादन हुने इट्टा कमसल हुने बताए । त्यस्तै मैली अर्थात गट्टु भन्सार गर्न सरकारले कुनै कोड नै नदिएको भए पनि अन्य कोड मार्फत भन्सारले सेटीङ्ग गरेर छाड्ने गरेको उनले आरोप लगाए । मैली अर्थात गट्टुको प्रयोगले कमसल इट्टा उत्पादन हुने र वातावरण प्रदुषण समेत बढाउने भएकाले यसलाई पुर्ण रुपमा बन्देज गर्नु पर्नेमा उनले जोड दिए ।

यस्तै अनमोल इट्टा उद्योग बेतकोटका सञ्चालक तेज बहादुर चन्दले सरकारले इट्टा उद्योगहरुमा कोइलाको प्रयोग गर्न निर्देशन दिएको भए पनि कैलाली कञ्चनपुरमा अझै पनि मैली अर्थात गट्टुबाट नै उद्योग सञ्चालन भईरहेको बताए । भन्सार निर्देशिकामा उल्लेख नै नभएको सामानको आयात निर्यात गर्न नमिल्ने कानुनी ब्यवस्था हुँदाहुँदै पनि भन्सारबाट सहजै रुपमा मैली अर्थात गट्टु निकासा भैरहेकोमा उनले ध्यानाकर्षण गराए ।

यता कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी पबित्र कुमार खडकाले इट्टा ब्यवसायीहरुले कुरै नबुझेको बताए । उनले मैली अर्थात गट्टुको परिक्षणका लागि विभागमा पठाएको र सो को यकिन जवाफ नआएकाले नयाँ दरबन्दी यकिन नहुन्जेल सामानको निकासा नहुने जानकारी दिए । तर आफुहरुले सरकारले प्रतिबन्ध नलगाएको कुनै पनि सामान रोक्न नमिल्ने उनले बताए ।

चिनि मिलबाट निस्केको काम नलाग्ने बस्तु, माटो, केमीकल लगायतको सम्मिश्रणबाट गट्टु बन्ने र यहाँका इट्टाभट्टाहरुमा प्रयोग भएको भन्दै उनीहरुले रोक लगाउन आग्रह गरेका हुन् । विकल्प दैनिक