छाडा पशुचौपायाका कारण कैलालीका तरकारी व्यवसायी हैरान
2023/12/09, 11:46
 
dd

कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् ।दिनभर छाडा रुपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका खानेकुरा खाइदिनुका साथै किसानको बारीमा लगाएको तरकारी फलफूल खाएर सखाप पारीदिएको कृषकले गुनासो पोख्दै आएका छन् ।

तरकारी खेतीलाई प्रमुख व्यवसायका रुपमा खेती गर्दै आएका कृषकका तरकारीबारी सखाप पार्दा उनीहरुको परिश्रम बालुवामा पानी हाले झै भइराखेको छ । धनगढी उपमहानगरपालिका–२ मा झन्डै पाँच वर्षदेखि दुई बिगाघा जमिन भाडामा लिई तरकारीखेती गदै आएका मुमताज आलमले सयौँका सङ्ख्यामा छाडा पशुचौपायाले  फसल प्राप्त गर्ने बेला सखाप पारिदिने गरेको गुनासो गरे ।

बजारको मुख्य क्षेत्रमै डुलिरहने पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको तिनको मलमुत्रले पनि  बजार क्षेत्र दुर्घन्धित हुँदै गएको छ । यति हुँदाहुँदै पनि धनगढी उपमहानगरपालिका तथा यस क्षेत्रका सरोकारवाला निकाय समस्या  समाधन गर्नुभन्दा  मौन बसेरहेकाले स्थानीयवासीले ठूलो घाटा व्यहोर्दै आएका छन् ।