कञ्चनपुरबाट शिवशिखरका चार जना कर्मचारी पक्राउ, ठगी गरेको आरोप
2023/12/11, 11:25
 
ss

कञ्चनपुरबाट शिवशिखर वहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारलाई प्रहरीले पक्राउ गरेको छ। शिवशिखरको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सो सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन्। पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले आफुले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए।

सहकारी विरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन्। बचतकर्ताले जम्मा गरेको वचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि सहकारी विरुद्ध उजुरी दिएका हुन्। ठगीमा परेका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन सूचना समेत निकालेको थियो।

सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ। भक्तपुरमा केन्द्रिय कार्यालय रहेको शिवशिखर सहकारी संस्थाका देशभरका विभिन्न ठाउँमा शाखा कार्यालय रहेका छन्।