गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा संघीय समितिको चासो
2023/12/11, 12:17
 
dd

प्रतिनिधि सभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ । आइतबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन गरेको हो ।   अनुगमनका क्रममा समितिले विश्वविद्यालय भित्र सञ्चालित गेटा अस्पताल सँगै हाल भौतिक संरचना निर्माण गरिरहेको पूर्वाधार विकास समितिको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो ।

समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति सँग पनि छलफल गरेर विश्वविद्यालयको ऐन लगायतका विषयमा छलफल गरेको थियो ।  अनुगमनका क्रममा बोल्दै समितिका सभापति जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक हाल राष्ट्रिय सभामा छलफलका क्रममा रहेको बताए । उनले शिक्षा मन्त्रालयले तयार पारेको विधेयक मन्त्रिपरिषद्बाट पारित भएर राष्ट्रिय सभामा छलफल भइरहेको भए पनि विश्वविद्यालय निर्माणमा केही ढिलासुस्ती भएको महसुस भएर कारण बुझ्न समिति अनुगमनमा आएको बताए । 

‘हामी सबैको चाहना भनेको अब ढिला गर्नुहुँदैन भन्ने हो’ उनले भने ‘जसरी २०६८ सालदेखि सुरु गर्ने भनिएको तत्कालीन गेटा मेडिकल कलेज सञ्चालनमा ढिलासुस्ती भयो । अहिले त्यसलाई वृहत् रूपमा विश्वविद्यालय बनाउने भनेपछि यसलाई चाँडो सञ्चालन गरिनुपर्छ भन्ने समितिको चाहना हो । यसका लागि के के गर्न सकिन्छ कसरी अगाडि बढ्न सकिन्छ भनेर हामीले अध्ययन गर्छौ ।’ उनले विश्वविद्यालयका लागि धेरै संरचना तयार भएकाले यहाँ विश्वविद्यालय सञ्चालन गर्न अब राज्यलाई धेरै भार पनि नपर्ने बताए । 

अनुगमनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ६ जना सदस्य सहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, धनगढी उपमहानगरपालिका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।