कञ्चनपुरको कृष्णपुरमा प्राविधिक क्याम्पस सञ्चालनका लागि अध्ययन सुरू 
2023/12/11, 5:20
 
dd

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । आइतरवार कोरिया सरकारद्वारा सञ्चालित कोइका नेपालका प्रतिनिधि, विज्ञ टिम र सिटीइभिटी नेपाल सहितको टोलीले कृष्णपुर नगरपालिकाको दुई स्थानमा स्थलगत अनुगमन गरेको छ। टोलीले वडा नम्बर ७ र वडा नम्बर ५ को दुई स्थानमा स्थलगत अनुगमन गरको हो।

अनुगमन पश्चात् सो टोलीले प्राविधिक कलेज सञ्चानलका लागि कृष्णपुर नगरपालिका उपयुक्त स्थान रहेको प्रारम्भिक रिपोर्ट कोरियन सरकारलाई बुझाएर विस्तृत अध्ययनका लागि छिट्टै कृष्णपुर नगरपालिकाको भ्रमण गर्ने कोइका नेपालका कन्ट्री डाइरेक्टर विकास रावलले जानकारी दिए। उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कोइका नेपालको टिम कृष्णपुर आएको बताए। कोइका नेपालको टोलीमा कन्ट्री डाईरेक्टर विकास रावल, इन्जिनियर र प्राध्यापक लगायतको उपस्थिति थियो।

सुदूरपश्चि प्रदेशमा प्राविधिक विषय अध्ययन गर्ने क्याम्पसको कमि रहेको भन्दै कोइका नेपाल यो परियोजना कृष्णपुरमा लागु गर्ने भएको हो। प्राविधिक क्याम्पसलाई देशकै नमुना कलेजको रुपमा अगाडि बढाउने लक्ष्य रहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए। नगरप्रमुख ओझाले आफूले स्थानीयहरुसँग पनि छलफल गरिरहेको भन्दै परियोजनाका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउन नगरपालिका तत्पर रहेको र नगरबासीहरु पनि अत्यन्तै उत्साहित रहेको बताएका छन्।

स्थलगत अनुगमनमा सिटिइभिटी नेपालका निर्देशक अनुज भट्टराई, उपनिर्देशक सुशिल श्रेष्ठ र सिटिइभिटीका सुदूरपश्चिम प्रमुख कल्प बस्नेतको उपस्थिति रहेको थियो। नगरपालिकाको तर्फबाट स्थलगत अनुगमनमा नगर प्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपति राना, वडाअध्यक्षहरु, इन्जिनियर र परराष्ट्र मन्त्री एनपि साउँदका सचिवालय सदस्य रामप्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो।

यो परियोजना पूर्णतया कोरियन सरकारको लगानीमा बन्नेछ। झण्डै एक अर्ब ३० करोड लगानीमा बन्ने प्राविधिक क्याम्पस निर्माण पश्चात् सञ्चालनका लागि नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सिटिइभिटीलाई हस्तान्तरण गरिने कोइका नेपालका कन्ट्री डाइरेक्टर विकास रावलले बताए। हाल यस्तै प्रकृतिका दुई प्रोजेक्ट महोत्तरीको बर्दिबास र रुपन्देहीको बुटवलमा सञ्चानलमा रहेका छन्।