कैलालीमा वन क्षेत्र अतिक्रमणको चपेटामा, अतिक्रमणकारी र तस्करलाई उन्मुक्ती
2023/12/16, 12:24
 
ss

मुलुककै ठूलो वन क्षेत्र  रहेको कैलालीमा वन अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्न थालेको छ। पछिल्ला तीन दशकमा कैलालीको ३० हजार हेक्टर वन विनाश भएको दाबी वनकर्मीहरू गरिरहदा सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले भने २०७८र७९ को वार्षिक प्रतिवेदनमै कैलालीमा १६ हजार ४ सय २ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको उल्लेख गरेको छ । वनसम्बद्ध सरकारी अधिकारी भने यो तथ्यांक झन्डै आधा मात्रै रहेको बताउँछन् ।

सन् १९९३ को वन अनुसन्धान तथा सर्वेक्षण केन्द्र प्रतिवेदनअनुसार २०३५/३६ देखि २०४७/४८ सम्मको अवधिमा तराईका २० जिल्लामा ९९ हजार ४ सय हेक्टर वन क्षेत्र विनाश भएको थियो । उक्त प्रतिवेदनअनुसार सबैभन्दा बढी वन विनाश कैलाली र कञ्चनपुरमा भएको थियो । त्यसबेला कैलालीमा १६ हजार १ सय हेक्टर र कञ्चनपुरमा १२ हजार ४ सय हेक्टर वन क्षेत्र विनाश भएको उल्लेख छ । वन विकास गुरुयोजना सन् १९८८ को प्रतिवेदनअनुसार २०३५/३६ देखि २०४२/४३ को अवधिमा तराईका जिल्लामा वन विनाशको वार्षिक दर ३.९ प्रतिशत रहेको उल्लेख छ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागद्वारा प्रकाशित अध्ययन प्रतिवेदन २०१५ अनुसार कैलाली सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । उक्त प्रतिवेदनअनुसार कैलालीमा १ लाख ९८ हजार २ सय ३९ हेक्टर क्षेत्रफल वन क्षेत्र छ । त्यसमध्ये तराई र भावर क्षेत्रमा ५९. ७० प्रतिशत र चुरे क्षेत्रमा ४०.३० प्रतिशत वन क्षेत्रले ओगटेको तथ्यांक छ । यहाँस्थित सम्बन्धित निकायले २०५० सालको सोही प्रतिवेदनमा उल्लेख भएअनुसारकै अतिक्रमणको आँकडालाई आफ्ना प्रतिवेदनहरूमा उल्लेख गरिरहेका छन् ।

सुदूरपश्चिम वन निर्देशनालयले २०७८/७९ को प्रगति प्रतिवेदनमा पनि कैलालीमा १६ हजार ४ सय २ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको उल्लेख गरेको छ । ‘तथ्यांक अद्यावधिक छैन । हामीले पनि १६ हजार हेक्टर अतिक्रमण भएको छ भन्दिन्छौं,’ डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत एवं सूचना अधिकारी डबल बोहरा भन्छन्, ‘वास्तविक रूपमा कति क्षेत्रफल अतिक्रमणमा परेको छ भन्ने यकिन नै छैन । बर्सेनि बढिरहेको अतिक्रमण त सबैले देखेकै छन् ।’

कैलालीमा हालसम्म ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा परिसकेको डिभिजन वन कार्यालय धनगढीका एक वन अधिकृतले बताए । ‘आधिकारिक तथ्यांक नभए पनि अहिलेको अतिक्रमणको तीव्र दर हेर्दा कैलालीमा ३० हजार हेक्टरको हाराहारीमा वन क्षेत्र मासिएको अनुमान छ,’ उनी भन्छन् । सामुदायिक वन उपभोक्ता समिति राष्ट्रिय महासंघका कैलाली अध्यक्ष डन्डीराज सुवेदी पनि कैलालीमा कम्तीमा ३० हजार हेक्टर वन क्षेत्र अतिक्रमण भइसकेको दाबी गर्छन्। डिभिजन वन धनगढीका अनुसार कैलालीको कुल वनको क्षेत्रफलमध्ये वसन्ता संरक्षित वन क्षेत्रले ३३ दशमलव ७ प्रतिशत ओगटेको यस क्षेत्रमा डिभिजन वन कार्यालय धनगढीको तथ्यांकअनुसार ६ हजार २ सय ६९ हेक्टरमध्ये १ हजार ४ सय ८९ हेक्टर क्षेत्रफल अतिक्रमण भइसकेको छ । एक दशकदेखि अतिक्रमण सुरु भएको यस वसन्ता क्षेत्रमा हाल ९ सय घर टहरा बनेका छन् ।