कैलालीमा युवकलाई ठक्कर दिएको अभियोगमा कार चालक पक्राउ
2023/12/22, 11:41
 
aa

 कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर भएको दुर्घटनामा मृत्यु भएका भनिएका युवकलाई ठक्कर दिएको आरोपमा प्रहरीले कार चालकलाई पक्राउ गरेको छ ।

मंगलबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिकाको जंगल रिर्सोट नजिकै मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका २९ वर्षीय धोजबहादुर शाहीलाई ठक्कर दिएको भन्दै कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले मोटरसाइकल अनियन्त्रित भएर सडकमा शाही खसेको अवस्थामा ठक्कर दिएको भन्दै जाहेरी परेपछि कार र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनकाअनुसार बागमती प्रदेश ०१०२९ च ३८८७ नम्बरको कार र चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय गणेशबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

प्रहरीकाअनुसार मृतक शाहीले चलाएको सुपप्र०१००१०प५०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा खसेको अवस्थामा खड्काले चलाएको कारको अगाडीको दाहिने चक्काले ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ । ठक्करबाट घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मंगलबार राति नै मृत्यु भएको थियो ।