अविरल बर्षापछि गएको पहिरोका कराण २० घर पुरिनुका साथै ७ जनाको मृत्यु भएको बझाङ केदार स्यु गाउँपालिका–८ मल्लेसीमा ४५ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँमाथि डाँडामा रहेको पानीको मुहान तीन दिन अघि आएको पहिरोले फुटेका कारण गाउँमा थप पहिरोको जोखिम बढेको हो । ‘डाडाँमा रहेको मुहान फुटेकोले फेरि पनि पहिरो जाने सम्भावना बढेर गएको छ ।’ केदार स्यू गाउँपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले भने ‘डाडामा फेरि पहिरो गएमा तल बचेका ४५ घर जोखिममा पर्ने सम्भावना छ ।’
तीन दिन अघि गाउँ भन्दा करिब १ सय ५० मिटर माथि रहेको रातापड सामुदायिक वन हुँदै बग्ने खहरे खोलामा अविरल बर्षापछि गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको थियो । एक जनाको शव अझै मेटिएको छैन । पहिरोले १८ घर पूर्ण रुपमा पुरिएका थिए भने दुई घर पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए । पहिरोका कारण तत्काल ४५ घर जोखिममा रहे पनि गाउँका सबै ८० घर नै जोखिममा पर्न सक्ने अध्यक्ष भण्डारीले बताए । ‘गाउँको दुवैतर्फ नदी छन् ।’ अध्यक्ष भण्डारीले भने ‘अहिलेको जस्तै भारी बर्षा भएमा सिंगो बस्ती नै पहिरोको जोखिममा छ ।’
गाउँको पुर्ण सुरक्षा दिन भने गाउँका करिब ८० भन्दा बढी घरलाई पुनस्थापना गर्नु पर्ने केदार स्यू गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले बताए । मल्लेसीमा तीन दिन अघि आएको पहिरोमा पुरिएर ४१ बर्षीया राममती जेठारा, उनका ११ वर्षीया छोरा प्रयाग जेठारा र दुइ छोरीहरु १६ वर्षिया शान्ति र ७ वर्षकी अस्मिताको शव फेला परिसकेको छ । उनकै घरमा सुतिरहेकी राममतीकी भतिजी नाता पर्ने १५ वर्षकी सन्तु जेठाराको पनि शव भेटिएको छ ।
यस्तै ८० वर्षका दले जेठाराले पनि पहिरोमा मृत शव भेटिएको हो । सजिलै हिडडुल गर्न नसक्ने भएकाले वृद्ध दलेले अरुसँगै भाग्न नसक्दा ज्यान गुमाउनु परेको स्थानीय सुरेश जेठाराले बताए । पहिरोमा पुरिएर वेपत्ता भएका गिरिजा जेठारा हालसम्म पनि बेपत्ता छन् । उनको हालसम्म पनि खोजी कार्य जारी रहेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।