कैलालीमा प्रदेश मातहतका सडकको निर्माण वर्षौदेखि अधुरै
2023/12/23, 12:37
 
dd

कैलालीमा प्रदेश मातहतका सडक निर्माणको काम वर्षौ वितिसक्दा पनि अधुरै छन्। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा निर्माण गरिरहेको यातायात पूर्वाधार विकासका बहुवर्षीय ठेक्कामाथि ठेक्का थपिए पनि योजना वर्षौंदेखि अधुरै छन्। कैलालीमा आर्थिक वर्ष २०७६/७७ देखि सातवटा सडकको काम अझै पुरा भएको छैन्। तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लगाइएका ती सडकहरू पाँच वर्ष बित्नै लाग्दा समेत काम पुरा भएको छैन्। 

आर्थिक वर्ष २०७८/७९ मा बहुवर्षीय ठेक्का लगाइएका १२ वटा योजना पनि अधुरै छन्। निर्माण कम्पनीहरूले ठेक्का हात पार्न लागत अनुमानभन्दा निकै कममा ठेक्का कबुल गर्ने र निर्माण कार्य अगाडि बढाउन कठिन हुने गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा भौतिक पूर्वाधार विकास कार्यालय कैलालीले गोदावरी सडकको कृष्ण मन्दिरदेखि बान्द्रेखालसम्म स्तरोन्नति गर्न बहुवर्षीय ठेक्का लगाएको थियो।

९ करोड ३९ लाख रुपैयाँ लागत अनुमानको सो सडक निर्माण गर्न एड्भेन्चर थेगिम सनलाईट जेभीले पाँच करोड ८४ लाख रुपैयाँमा ठेक्का कबोल गरेको थियो। तर पाँच वर्षको अवधिमा भौतिक प्रगति ४५ प्रतिशत मात्रै गरेको छ भने ४९ प्रतिशत भुक्तानी लिइसकेको छ। त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मै पूर्वाधार विकास कार्यालय कैलालीले भजनी–सुख्खड सडक स्तरोन्नति गर्न १६ करोड १८ लाख रुपैयाँमा सिएबी जोशी जेभीलाई ठेक्का दिएको छ।

पाँच वर्षमा सो सडकको ९० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ भने ८४ प्रतिशत भुक्तानी भएको छ। २९ करोड ४५ लाख रुपैयाँको लागत अनुमान गरिएको सडकमा झण्डै आधा रकममा मात्रै ठेक्का कबुल गरेको कम्पनीले नाफा नहुने देखिएपछि निर्माण कार्य निकै सुस्त पारेको छ। सोही सडकमा कार्यालयले कालोपत्रे गर्न २०७८र७९ मा अर्को ठेक्का लगाएको छ। ३१ करोड ६ लाख रुपैयाँ लागत भएको सो सडकको ठेक्का पिएस रोयल जेभीले २३ करोड ८६ लाख रुपैयाँमा ठेक्का लिएको छ।

तीन वर्षमा सो कम्पनीले ६० प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ भने ६७ प्रतिशत भुक्तानी लिएको छ। ६ वर्षको अवधिमा कैलालीमा प्रदेश सरकारले लगाएको यातायात पूर्वाधार विकासका बहुवर्षीय ठेक्कामध्ये हालसम्म कुनै पनि ठेक्का पूरा भएको छैन। प्रदेश सरकारले लगाएका सबै बहुवर्षीय योजना तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालय कैलालीका लेखा अधिकृत नरबहादुर शाहले बताए। उनले हालसम्म बहुवर्षीय ठेक्का लगाइएको मध्ये प्रतापुर–गुलारा सडक कालोपत्र योजना मात्रै सम्पन्न हुने चरणमा पुगेको बताए।