धनगढीमा साढे २८ करोडको सभागृह अलपत्र
2023/12/23, 12:43
 
aa

कैलाली । धनगढी उपमहानगरपालिका–८ मा साढे २८ करोडको लागतमा निर्मित धनगढी सभागृह अलपत्र परेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत सो सभागृहको संरचना निर्माण भएको हो ।

निर्माण सम्पन्न भएपछि संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सो सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो । तर धनगढी उपमहानगरपालिकाले अधुरै अवस्थामा स्वामित्व लिन नमानेपछि सभागृह अलपत्र परेको हो ।  धनगढी सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड नहुँदा र हल सञ्चालनका लागि चाहिने फर्निचर, साउन्ड सिस्टम, एसी जडानलगायतका कार्य अधुरो रहेको भन्दै उपमहानगरपालिकाले स्वामित्व लिन इन्कार गरेको हो ।

‘सभा हल नै अधुरो छ । सञ्चालन हुनलाई कुनै मापदण्ड चाहिएला नि रु त्यो पनि छैन । खाली संरचना मात्रै छ । यत्रो ठुलो हलमा एउटा पनि फर्निचर छैन, फर्निचर चाहियो नि । त्यहाँ एसी छैन । साउन्ड सिस्टम छैन । उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले भने, सबै तयार भएपछि मात्रै हामी लिन्छौँ भनेका हौँ । अधुरै लिने कुरा पनि त भएन नि ।

फर्निचरमा मात्रै ३० लाखभन्दा बढी रकम खर्च हुने बताउँछन् । साथै साउन्ड सिस्टमलगायत अन्य उपकरण जडानमा साढे २ करोड लाग्ने अनुमान गरिएको छ । त्यति रकम नगरपालिकाले लगाउन नसक्ने भन्दै संघीय सरकारले नै सम्पन्न गर्नुपर्ने उनको जोड छ । फर्निचर र साउन्ड सिस्टम जडान भएपछि भने स्वामित्व लिन सकिने उनले बताए ।

‘फर्निचर तयार गर्ने कुरा भइरहेको सुनेका छौँ साउन्ड सिस्टम पार्किङ सबै तयार भएका सुरु गर्न सहज हुन्छ’ उनले भने ।  डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानीमा बनेको सभागृहको निर्माण, रङरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण मुख्य कार्य २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरिसकेको छ ।

निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरणको तयारी समेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि स्थगित भएको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए । साउन्ड सिस्टम लगायतको लागि करिब ३ करोड माग गरिएको उनले बताए।

‘धेरै फर्निचर आवश्यक देखिएको छैन केही त नगरपालिका आफैले पनि तयार गर्न सक्छ’ उनले भने, ‘हामीले साउन्ड सिस्टमको लागि थप बजेट माग गरेका छौँ ।’  राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा ९ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, २५० जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अति विशिष्ट कक्ष र २ वटा रिहर्सल कक्ष छ ।  करिब ४ सय गाडी अटाउने अन्डरग्राउन्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ । फर्निचर र साउन्ड सिस्टम नभएको बहानामा एक वर्षदेखि सो सभागृह अलपत्र परेको छ । 

सो सभागृह सञ्चालन हुन नसकेको कारण सरकारी कार्यक्रम होटेल र पार्टी प्यालेसमा भइरहेका छन् । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठुला कार्यक्रमहरू सभा हलको अभावमा पार्टी प्यालेस, होटेलमा गर्नुका साथै मन्त्रालयको प्राङ्गणमा टेन्ट लगाएर आयोजना गर्नुपर्ने बाध्यता छ ।