सबै धर्मको संरक्षण गर्छौ : मेयर भट्ट
2023/12/24, 11:32
 
dd

कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले राज्यले सबै धर्मको संरक्षण गर्न आवश्यक भएको बताएका छन । उनले नेपालको संविधान मै धर्म निरपेक्षता कायम भएकाले संविधानको पालना गर्दै राज्यले सबै धर्मको संरक्षण गर्नुपर्ने बताएका हुन ।

शनिबार इसाई समाज गोदावरीले आयोजना गरेको सयुक्त ख्रीष्टमस कार्यक्रममा बोल्दै उनले गोदावरी नगरपालिकाले पनि सबै धर्मको संरक्षण गर्ने गरी काम गरिरहेको बताए । ‘हाम्रो देश धर्म निरपेक्ष राष्ट्र हो । हाम्रो देशमा सबै जातजाती, भाषा, धर्मको समान महत्व रहन्छ । संविधानले नै देशलाई धर्मनिरपेक्ष राष्ट्र बनाइसके पछि हामी सबैको बराबर अधिकार रहन्छ’ उनले भने ‘जुनसुकै धर्म भएपनि धर्मले समाजलाई लक्षित बाटोमा डोह¥याउन्छ । धर्ममा आस्थावान मानिसहरूको कारणले नै समाजको प्रगति भएको छ । समाजको प्रगतिका निमित्त धर्म आवश्यक छ । त्यसैले तिन वटै तहमा रहेका सरकारले धर्म संरक्षण गर्नु जिम्मेबारी हो ।’

उनले धर्म मान्ने मानिसहरूलाई सरकारले संरक्षण गर्नुपर्ने बताए । ‘धर्मको संरक्षणका लागि २०७४ देखि ०७९ सम्म कुनै काम भएन । हामीले सबै धर्मावलम्बीहरूलाई हाम्रो पनि सरकार छ भन्ने अनुभूति गराउन हामीले सहयोग गरेका छौ’ उनले भने ‘गोदावरी नगरपालिकाले गोदावरी इसाई समाजलाई १० लाख सहयोग गरेको छ ।’ उनले थोरै भएपनि इसाई समाजलाई सम्झिनुपर्छ भनेर बजेट विनियोजन गरेको बताए । उनले इसाई धर्म मात्रै नभएर मुस्लिम धर्मावलम्बीहरूलाई पनि १० लाख बजेट विनियोजन गरिएको बताए ।

उनले हिन्दु धर्मावलम्बीहरूको लागि गोदावरी आर्यघाट व्यवस्थापनको लागि काम गरिरहेको बताए । उनले गोदावरीको समग्र विकासका लागि डिपिआर तयार गरिएको बताए । ‘डिपिआर अनुसार समग्र गोदावरीको विकासका लागि ३८ देखि ४० करोड खर्च गर्नुपर्ने देखिएको छ’ उनले भने ‘यती ठूलो रकम गोदावरी नगरपालिकाले मात्रै बेहोर्न नसक्ने भएकाले प्रदेश र संघ सरकार सँग अनुरोध गरिएका छौ ।’ उनले इसाई र मुस्लिम धर्मावलम्बीहरूको लागि गोदावरीमा आर्यघाटको व्यवस्थापन हुन नसकेको बताए । उनले यसको निमित्त थप छलफल गरेर आवश्यक व्यवस्थापन गर्न नगरपालिका तयार रहेको बताए ।

उनले गोदावरीको समग्र विकासका लागि अत्तरिया बसपार्क, लामिताल र पार्कको निर्माणका लागि पनि पहल भइरहेको बताए । उनले स्थानीय सरकारको बजेटबाट मात्रै सबै काम गर्न सम्भव नभएकाले माथिल्लो सरकारलाई आग्रह गर्ने काम भइरहेको बताए ।

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले जुनसुकै धर्म मान्ने मानिस भएपनि आ–आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले जुनसुकै नामले भगवानलाई माने पनि हामी सबैको परात्मा एउटै भएको बताए । उनले गोदावरीमा भएका सबै धर्मका संघसंस्था मठ मन्दिर, मस्जिद, चर्च नगरपालिकाको गहना भएको बताए । ‘यिनीहरूको संरक्षण गर्ने जिम्मेवारी गोदावरी नगरपालिकाको हो’ उनले भने ‘हामीले यसको संरक्षणका लागि हामीले सक्दो सहयोग गरिरहेका छौ ।’ उनले बजेट अभावका कारण जनअपेक्षा अनुसार भने काम गर्न समस्या भइरहेको बताए ।

इसाई समाज गोदावरीका सभापति डेबिट कैनीको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट प्रमुख अतिथि रहेका छन् । पुस ९ गते ख्रीष्टमस डे को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको थियो । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्म जयन्तीका अवसरमा क्रिसमस दिवस मनाइने गरिन्छ ।