धनगढीका मेयर हमालले एकलौटी गरेको भन्दै कार्यपालिका सदस्यहरूको विरोध
2023/12/24, 4:32
 
aa

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एकलौटी निर्णय गरेको भन्दै कार्यपालिका सदस्यहरूले विरोध जनाएका छन् । आइतबार उपमहानगरपालिका पत्रकार सम्मेलन गर्दै उपस्थित वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्डमा मेयर हमालले एकलौटी गरेको आरोप लगाए । 

मङ्सिर २४ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयरले एजेन्डा बिना धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि २०८० को प्रस्ताव प्रवेश गराएको वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्काले बताए ।उनले उक्त प्रस्तावमा आफूहरूलाई पर्याप्त छलफल नै गर्न नदिएर राजपत्रमा प्रकाशित गरेको आरोप लगाए । 

‘बहुमत सदस्यहरूले पारित गरेपछि मात्रै उक्त कार्यविधि पारित हुनुपर्ने हो । हामीले त्यस दिन यसमा थप छलफल आवश्यक छ भनेका थियौँ’ उनले भने ‘हामीले पारित नै नगरेको कार्यविधि मेयरले एकलौटी गरेर राजपत्रमा प्रकाशित गर्नु भयो । ’

उनले पैतृक सम्पत्तिमा के गर्ने,२० फिटको सडकका विषयमा के गर्ने, भन्ने विषयमा विवाद भएको हुँदा अर्को बैठकमा छलफल गर्ने सहमति हुँदाहुँदै राजपत्रमा प्रकाशित गरेको भन्दै मेयरको विरोध गरे । उनले पछिल्लो समय मेयर हमालबाट एकलौटी हुँदै गरेको भन्दै आफूहरू पनि जन निर्वाचित भएको स्मरण गराएका थिए । 

‘हामीलाई पनि धनगढी राम्रो बनाउनु छ । मेयर एक्लैले धनगढी राम्रो बनाउने होइन । हामीलाई पनि जनताले जिताएर यहाँ पठाएका हुन्’ उनले भने ‘हामीले उहाँलाई कहिल्यै बाधा पुराएका छैनौँ तर, हामीले जनताको पक्षमा बेल्दा त उहाँले सम्बोधन गरिदिनु प¥यो । ’

एक साता बढी समय देखी आफूहरूले उक्त कार्यविधिमा विरोध जनाउँदा पनि मेयरले चासो नदिएको उनको गुनासो थियो । पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले आफूहरूलाई मेयर हमालले कार्यपालिका बैठकमा बोल्न समेत नदिने गरेको गुनासो गरे । लामो समय देखी मेयरलाई समस्या समाधान गर्न बोलाउँदा पनि आलटाल गर्ने गरेको उनले गुनासो पोखे । 

वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारीले कार्यपालिका बैठकको निर्णय सोही दिन लेख्नु पर्ने माग गरे । आज निर्णय गरेर दुई्चार दिन पछि लेख्ने कुरा हुँदैन’ उनले भने ‘आज निर्णय भएपछि आजै लेख्नु पर्छ । ’ धनगढीमा भने मेयरले दुई चार दिन पछि निर्णय लेख्ने र आफूहरूलाई त्यस विषयमा जानकारी नगराउने गरेको उनले गुनासो पोखे । 

११ नम्बरका अध्यक्ष रुप बहादुर कुँवरले मेयर हमालले एकपक्षीय रूपमा कार्यविधि कार्यपालिका बैठकमा ल्याएको आरोप लगाए । उनले एजेन्डा विना कार्यपालिका बैठकमा प्रस्ताव ल्याएर मेयरले एकलौटी गरेको बताए । 

वडा नम्बर १ का अध्यक्ष सन्तोष मुड्भरीले जग्गा सम्बन्धी कार्यविधि २०८० प्रक्रिया नै नपुराएर राजपत्रमा प्रकाशित गरिएको आरोप लगाए ।  ‘ऐन कानुन नियमावली र कार्यविधि कि सर्वसम्मत कि बहुमतबाट पारित भएपछि मात्रै राजपत्रमा प्रकाशित हुन्छ’ उनले भने ‘यहाँ त्यो भएकै छैन  मेयरले हतारमा राजपत्रमा प्रकाशित गर्नु भयो । ’

आफूहरूले कुनै पनि बुँदामा राम्ररी अध्ययन गर्न नपाएको उनले गुनासो गरे । विधान मस्यौदा समितिमार्फत कार्यविधि आउनु पर्नेमा मेयरले एजेन्डामै नराखेर कार्यविधि ल्याएको र पारित नहुँदै राजपत्रमा प्रकाशित गरेको उनको आरोप थियो ।उनी उक्त कार्य विरुद्ध सशक्त विरोध गर्ने जनाए ।

मङ्सिर २५ गते राजपत्रमा प्रकाशित भएको कार्यविधिबारे सुरुबाटै विरोध भइरहेको छ । यस विषयमा केही दिन पहिले बहुमत कार्यपालिका सदस्यहरूले खारेजीको प्रस्ताव पनि दर्ता गराएका छन् । तर, त्यसपछि बैठक भने बस्ने सकेको छैन । 

जग्गा सम्बन्धी कार्यविधि २०८० खारेजीको लागि कार्यपालिका सदस्यहरूले निर्णय गरेकै साँझ मेयर हमालले भने आफू उक्त कदमबाट पछि नहट्ने बरु राजीनामा दिन तयार हुने अभिव्यक्ति भिडियो सन्देश मार्फत दिएका थिए । सबै बिच उक्त जग्गा प्लटिङ कार्यविधि विरुद्ध सर्वोच्चमा रिट समेत परिसकेको छ ।