केन्द्रीय समितिमा नेताहरूलाई आरजूको अनुरोध- गुटका नाममा आफैंमा बाझ्ने नगरौं
2023/12/31, 1:46
 
iiurter

 नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। आरजू राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैमा बाझ्ने काम नगर्न नेताहरूलाई अनुरोध गरेकी छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकमा नेतृ देउवाले नेताहरू आफैंमा बाझ्दा पार्टीलाई क्षति भइरहेको बताइन् । ‘हामी कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौं कि हामी बाझेको बाझ्यै हुन्छौं, त्यो राम्रो इम्प्रेसन होइन, भोट हाम्रै काटिन्छ’, उनले भनिन्, ‘कोही न कोही विभिन्न गुटको नेता होला, तर जहिले पनि आफैमा बाझ्ने पार्टी भनेर सबैतिर भोट काटिदिरहेको हुन्छ, त्यसकारण त्यसो नगरिदनुस् । तपाईंहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस् ।’

प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य देउवाले भनिन्, ‘हामी पटक पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौं । कहिले कहिले कार्यक्रम गर्दा अफ्ठेरो पर्न आएको सुन्नमा आयो । तर यो घरभित्रकै अफ्ठेरो भएकाले बसेर सुल्झाउन सकिन्छ । जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्रो लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ ।’

केन्द्रीय सदस्य देउवाले बालकुमारी घटनाको जिम्मेवार दलहरू नै रहेको बताइन् । मारिएका युवाको घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेको अवस्थाले आफू दुखी भएको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन् । जहिले पनि केही हुँदैन भनेर निराशाको भाष्य बनाउने भन्दा आशा जगाउने काम गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद देउवाले विधेयकहरूमा संशोधन हाल्दा पार्टीको नीति र संविधान अनुरूप हाल्न सांसदहरूलाई सुझाव दिइन् ।कृषि समिति सभापतिसमेत रहेकी देउवाले केन्द्रीय समिति बैठकमा कृषिको बजेट न्यून रहेकोमा पनि असन्तुष्टि जनाइन् । रेमिट्यान्सपछि मुलुकको अर्थतन्त्रमा टेवा पुर्याइरहेको कृषिमा लगानी बढाउनुपर्ने, किसानले उत्पादन गरेको वस्तुले सहज बजार र सुपथ मूल्य पाउने वातावरण बनाउन ध्यानाकर्षण गराइन् ।

युवा पलायन भइरहेका बेला कृषिमा आकर्षण हुनेगरी रणनीति बनाउनुपर्ने उनको भनाइ थियो । अबको ५÷१० वर्षमा देशमा युवा नहुने, सबै बाहिरी देशले लगिसक्ने भन्दै उनीहरू बस्ने वातावरण बनाउन जरूरी रहेको बताइन् ।