चर्चित गीत गाएर पनि किन गुमनाम छिन बैतडीकी कल्पना
2024/01/02, 1:16
 
dd

बैतडीको सुर्नया गाउँपालिका–५, धुलीधारकी १२ वर्षीय कल्पना विष्टले गाएका गीत अहिले सर्वत्र चर्चामा छन् तर कल्पना विष्ट भने अँध्यारो गाउँमा गुमनाम छन । लोकगायक विष्णु खत्रीसँग ‘गैह्री खेत’ र बालगायक सुप्रिम मल्लसँग ‘बझाङ बाजुरा’ बोलको गीत अहिले युट्युबमा चर्चित छन् ।  

कल्पना गाउँकै सिद्धनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्छिन् । कोइलीको जस्तो सुमधुर स्वर भएकी कल्पना विष्ट निकै मीठो गीत गाउँछिन् । कल्पनाको गाउँमा बिजुलीबत्ती, इन्टरनेट र टिभी छैन । रेडियोमा लोकगीत सुनेर गीत गुनगुनाउन सुरु गरेकी कल्पना विष्टले अहिलेसम्म दुई वटा गीत बजारमा ल्याएकी छिन् । चर्चित गीत गाएर पनि उनले कुनै सहयोग पाएकी छैनन् । गाउँमा खान लगाउन नपुगेपछि कल्पनाका बुवा नरेन्द्र विष्ट रोजगारीका लागि भारतगएका छन । गरिबी र अभावसँग सङ्घर्ष गरेर कल्पना विष्टको गीतसङ्गीत सिक्ने र पढ्ने रहर छ । गरिबीका कारण पढ्न र  गीतसङ्गीत सिक्न नपाएको कल्पनाले पीडा सुनाएकी छिन् । 

आमा सानु विष्ट र दुई भाइसँगै कल्पना पनि गाउँको विद्यालयमा अध्ययनरत छन । घरमा बिजुली नहुँदा टुकी बालेर पढ्नु परेको छ । आधा घण्टा उकालीओराली गरेर विद्यालय जाँदा खुट्टामा राम्रो जुत्तासमेत छैन । रेडियो सुनेर गीत गुनगुनाउने कल्पना पढाइसँगै गीतसङ्गीत सिकेर गायिका बन्ने तयारीमा छिन् । आर्थिक अवस्था नाजुक भएकाले राम्रो विद्यालय गएर गीतसङ्गीतसँगै पढाइ गर्ने कल्पनाको धोको रहेको आमा सानु विष्टले बताए । छोरीको स्वर राम्रो भए पनि गरिबको भाग्य नराम्रो भएकाले घर खर्च चलाउन श्रीमान्  भारत पसेको कल्पनाकी आमा सानु विष्टले बताए । 

स्थानीय र प्रदेश सरकारले बालप्रतिभाको कदर नगरेकोमा कल्पना विष्टको परिवार दुःखी छ । युट्युबमा चर्चा बटुल्न आउनेको सङ्ख्या बढी भए पनि पढाइमा सहयोग गर्ने कुनै निकाय नआएको कल्पनाले बताएकी छिन् । गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखाले पढाइसँगै सङ्गीत सिक्ने धोको पूरा गरिदिने आशा भए पनि कसैले सुनुवाइ नगरेको बालिका कल्पनाको भनाइ छ । घरको आर्थिक अवस्था राम्रो नभएकै कारण बाबा नरेन्द्र विष्ट पराई देशमा मजदुरी गर्न जान बाध्य भएकोमा कल्पना विष्ट निकै दुःखी छिन् ।