नाउपालाई महाधिवेशनको चटारो,भाजपाका नेतादेखि प्रचण्डसम्मलाई उपस्थित गराउने रेशमको तयारी
2024/01/03, 11:46
 
dstrretwerw

गठनको छोटो समयमा नै संघीय संसद्को प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नै ४ सीट जित्दै पूराना राजनीतिक दललाई टक्कर दिने हैसियत बनाएको नागरिक उन्मुक्ति पार्टी नाउपा यतिबेला प्रथम महाधिवेशनको तयारीमा ब्यस्त रहेको छ ।

यहि पुस २६ गतेदेखि २८ गतेसम्म नाउपाले कैलालीको टीकापुरमा प्रथम महाधिवेशन आयोजना गर्दैछ । बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नाउपाका संरक्षक तथा संस्थापक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी भाजपाका नेतालाई समेत सहभागी गराउने नाउपाको तयारी रहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका सबै शीर्ष नेतालाई महाधिवेशनमा निम्ता गरिएको नाउपाले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री प्रचण्डबाट हुने करिब टुंगो लागेको नाउपा स्रोतले जनाएको छ । महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने चौधरीले बताए ।