‘एनिमल पार्क’मा पुनर्जीवित हुनेछ बबी देओलको पात्र
2024/01/03, 2:27
 
cc

सन् २०२३ मा भारतको सबैभन्दा ठूलो ब्लकबस्टरका रूपमा उभिएको ‘एनिमल’ले आफ्नो बक्स अफिस कमाइका साथ धेरै रेकर्ड बनायो । सकारात्मक समीक्षासहित यो फिल्मले दर्शकबाट समेत साथ पायो ।

फलस्वरुप फिल्मले भारतमा ५४३ करोड भारु कमायो । यससँगै फ्यानले ‘एनिमल’को दोस्रो भागको पनि माग गर्न थाले । जसअनुसार दर्शकलाई निराश नतुल्याई निर्माताले फिल्मको दोस्रो पार्ट ‘एनिमल पार्क’को समेत घोषणा गरिसकेका छन् । एनिमलमा रणवीर कपुरपछि बबी देओल सबैभन्दा मन पराइएका कलाकार थिए । त्यसैले अब ‘एनिमल पार्क’मा बबी देओलको क्यारेक्टरलाई थप स्क्रिन टाइम दिने योजना बनाइएको जनाइएको छ ।

‘एनिमल पार्क’मा पारिवारिक दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले एक्सनका साथै इमोसन ड्रामा देखाउने बताइएको छ । हुन त ‘एनिमल’मा बबीको पात्रको मृत्यु हुन्छ । तर ‘एनिमल पार्क’मा उनको रोललाई पुनजीर्वित तुल्याउने निर्मातालाई उध्दृत गर्दै बलिउड हंगामाले जनाएको छ ।

स्रोतले भनेको छ, ‘रणवीरबाहेक बबी फिल्मको सबैभन्दा ठूलो यूएसबी साबित भए । भाग १ को अन्त्यमा उनको क्यारेक्टरको मृत्यु भए पनि निर्माताले उनलाई एनिमल पार्कमा पुनर्जीवित गर्ने योजना बनाएका छन् ।’

बबी पनि सिक्वेलका लागि पूर्णरुपमा तयार छन् । उनी भन्छन्, ‘जब हामीले एनिमलको सुटिङ गरिरहेका थियौं, हामीले काल्पनिक रूपमा सिक्वेलको बारेमा कुरा गर्‍यौं । सिक्वेल बन्यो भने कस्तो हुनेछ, मेरो क्यारेक्टर कस्तो हुनेछ आदि । मलाई थाहा छ कि जब पात्र फ्रेन्चाइजमा लोकप्रिय हुन्छन्, मृत्युपछि पनि पुनर्जीवित हुन्छन् ।’

टी–सिरिज, सिने वान स्टुडियो र भद्रकाली पिक्चर्सको ब्यानरमा बनेको फिल्ममा रणवीर र बबीसहित अनिल कपुर, रश्मिका मन्दाना र तृप्ति डिमरीको समेत मुख्य भूमिका छ ।