'बलात्कार भएको पटक-पटक भनिरहँदा पनि प्रहरीले पत्याएनन्'
पीडकलाई कुटपिट गरेको आरोपमा पीडितकै श्रीमान् पक्राउ
2024/01/04, 11:28
 
ss

बाजुरामा श्रीमतीलाई बलात्कार गर्ने आरोपित पीडकमाथि कुटपिट गरेको आरोपमा पीडितकै श्रीमानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले उनीहरूलाई पुस १५ गते नियन्त्रणमा लिएको हो।  पीडित महिलाले श्रीमान र देवरलाई झुटो आरोप लगाएर प्रहरीले नियन्त्रणमा लिएको बताउँदै आएकी छन्। तर प्रहरीले भने ज्यान मार्ने उद्योगमा जाहेरी आएपछि पीडितको श्रीमानलाई पक्राउ गर्न बाध्य भएको जवाफ दिन्छ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रवक्ता प्रहरी निरीक्षक किशोरसिंह ‍ऐरीका अनुसार ३५ वर्षीया गर्भवती महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा हिमाली गाउँपालिका-३ का जंगसिंह बुढा पक्राउ परेका छन्। उनलाई पुस १३ गते साँझ पक्राउ गरिएको हो। जंगसिंह विरूद्ध ७ महिनाको गर्भवती दलित महिलालाई बलात्कार गरेको जाहेरी छ। पीडितले जाहेरी दिएकै दिन उनलाई पक्राउ गरिएको प्रवक्ता ऐरीले जानकारी दिए।

'पीडक पक्राउ परेको दुई दिनपछि पीडितका श्रीमान र देवरविरूद्ध जाहेरी आएकाले उनीहरूलाई पनि पक्राउ गरिएको हो,' उनले भने।पीडक बुढाले पीडितका श्रीमान र देवर विरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन्। 'अहिले यी दुवै मुद्दा दर्ता भएर अनुसन्धान गर्ने काम भइरहेको छ,' प्रवक्ता ऐरीले भने। यस घटनामा पीडित र प्रहरीको भनाइ फरक-फरक देखिन्छ। आफूमाथि जबरजस्ती करणी गर्दा बच्न हँसिया र चिम्टाले हानेको चोटलाई पीडकले श्रीमानले कुटपिट गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको आरोप लगाउँछिन्। तर प्रहरी भने पीडकलाई कुटपिट गरेको पीडितका श्रीमानले स्वीकार गरेको बताउँछ।

यस घटनाबारे हामीले पीडितलाई सोध्यौं। 

हिमाली गाउँपालिका-३ की ३५ वर्षीया निरू (नाम  परिवर्तन) पुस १० गते तीन सन्तानको साथमा सुतिरहेकी थिइन्। गाउँमा जात्रा भएकाले उनका श्रीमान जात्रा हेर्न गएका थिए। श्रीमान रातमा आउँदा नबिउँझिने डरले उनले ढोका ढप्क्याएर मात्र सुतेकी थिइन्। रातको साढे १ बजे उनलाई आफ्नो शरीर कसैले छोइरहेको जस्तो लाग्यो, अनि बिउँझिइन्।

'सुरूवाल खोलेर जबरजस्ती करणी गर्न थाल्दा बिउँझिएँ, त्यसपश्चात् उनले मुख थुनेर जबरजस्ती करणी गरे,' उनले भनिन्, 'पेटमाथि खुट्टाले च्यापेर निर्घात तरिकाले करणी गरेँ।' गर्भावस्थामा पीडकले खुट्टाले शरीर च्यापेकाले उनले प्रतिकार गर्न सकिनन्। हातले आसपास खोज्दा चिम्टा र हँसिया भेटेर त्यसैले हानेको उनको भनाइ छ। आफूले चिम्टा र हँसियाले हान्दा लागेको चोटलाई श्रीमानले कुटपिट गरेको भन्दै उल्टै फसाउन खोजेको उनी दाबी गर्छिन्।

चिम्टाले प्रतिकार गर्दा मुख थिचेको हात छोडेपछि चिच्याउन थालिन्। चिच्याएपछि मात्र आसपासका मानिसहरू भेला भएको उनी बताउँछिन्।  'मान्छे बोलाउन थालेपछि जंगसिंह बुढा भागेका हुन्,' उनले भनिन्।  त्यसपश्चात् कसैले जानकारी गराएर श्रीमान आफूलाई भेट्न आइपुगेको उनको दाबी छ।  त्यसदिन मानिसहरू भेला हुँदा-हुँदै उज्यालो भयो। बिहानपख गाउँभरीमा मानिसहरू भेला भएर मेलमिलाप गर्न आग्रह गरिरहेका थिए। तर आफूले बच्चालाई असर परेको भन्दै मेलमिलाप नगर्ने अडान लिएको पीडित महिला बताउँछिन्।

गाउँभरी हल्ला फैलिएपछि दलित नेटवर्क बाजुराको युवा साथीहरूको सहयोगमा दुई दिन लागेर जिल्ला पुगेका उनको भनाइ छ। 'सुरूमा प्रहरीले गाउँमा हिसाबकिताब नमिलेर जाहेरी दिन आउनु भएको भन्दै उजुरी लिन मानेन,' उनले भनिन्, 'आफूमाथि बलात्कार भएको पटक-पटक भनिरहँदा सुरूमा प्रहरीले पत्याएनन्।'  उनी प्रहरीकोमा पुगेको साढे तीन घन्टापछि अभियन्ताको दबाबमा साँझ ६ बजे मात्र जाहेरी दर्ता भएको उनको भनाइ छ। 

उनी दलित नेटवर्ट बाजुराको युवाहरूको दबाबले मात्र जाहेरी दर्ता हुन सकेको बताउँछिन्। दलित समुदायमा हुने जातीय विभेद र अन्य घटनामा आवाज उठाउनका लागि गाउँकै युवाहरूले 'जिल्ला दलित नेटवर्क बाजुरा' सञ्चालनमा ल्याएका छन्।  उक्त घटना भएको जानकारी पाउनसाथ गाउँका युवाहरू पीडित महिलाको घरमा पुगेका थिए।  बाजुरा दलित नेटवर्क सञ्जालका सचिव रमेश विकका अनुसार पीडितलाई गाउँमै मिल्न दबाब दिइएको थियो। तर उनले कानुनी लडाइँ लड्ने अडान छोडिनन्। कानुनी लडाइँ लड्ने भएपछि युवाहरूकै साथमा उनी जिल्ला आइपुगेकी हुन्।

'हिमाली गाउँपालिकाबाट जिल्ला आउन आधा बाटो हिँड्नुपर्ने भएकाले दुई दिनपछि मात्र जिल्ला आइपुग्यौं,' सचिव विकले भने,  '११ गते नै निस्किँदा पनि १३ गते साढे दुई बजे कार्यालय आइपुगेका हौं, ६ बजेमात्र जाहेरी दर्ता भयो।'    उनका अनुसार त्यो दिन जिल्ला प्रहरी कार्यालयका प्रमुख थिएनन्। प्रहरी निरीक्षक किशोरसिंह ऐरीले सुरूमा मुद्दा दर्ता लिन मानेनन्। पछि गृह मन्त्रालयमा गुनासो गरेपछि मात्र मुद्दा दर्ता भएको हो।

'पीडितले आफूमाथि बलात्कार भएको पटक-पटक भनिरहँदा पनि प्रहरीले पत्याएनन्,' उनले भने, 'तपाईंहरू गाउँमा मेलमिलाप कुरा नमिलेर आउनु भएको थाहा भइसकेको छ भन्दै अटेर गरेर बसे।'  उनले थपे- 'हामी पुग्दा प्रहरी निरीक्षक ऐरीलाई घटनाबारे जानकारी भइसकेको रहेछ।'  जाहेरी गर्न ढिलाइ भएको बारेमा पनि प्रवक्ता ऐरीले सोधपुछ गर्ने प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही समय लागेको बताउँछन्।  'पीडित जाहेरी दिन आएकै दिन दर्ता गरेका हौं,' उनले भने, 'जाहेरी दर्ता भएकै साँझ नजिकको प्रहरी चौकीमा सम्पर्क गरी पीडकलाई नियन्त्रणमा लिन लगाएका हौं।'

जंगसिंह बुढालाई पक्राउ गरेको दुई दिनपछि पुस १५ गते पीडकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकाले अनुसन्धानका लागि पीडितको श्रीमानसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता ऐरी स्वीकार गर्छन्।  'बुढामाथि कुटपिट भएको पीडितको श्रीमानले स्वीकार गरिसकेका छन्,' प्रवक्ता ऐरीले भने, 'चोटपटकबारे पनि अनुसन्धान भइरहेको छ।'  प्रहरीका अनुसार जबरजस्ती करणीबारे पनि दुवैको जिल्ला अस्पताल बाजुरामा स्वास्थ्य परीक्षण गरिएको छ। त्यसको रिपोर्ट आएपछि अनुसन्धान अगाडि बढ्छ। अहिले आसपासका व्यक्तिहरूसँग सोधपुछ गर्ने र बयान लिने काम भइरहेको प्रहरी प्रवक्ता ऐरीको भनाइ छ। 

जबरजस्ती करणी मुद्दाको अनुसन्धान गर्नका लागि भोलि पुस १९ गते घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली जाने तयारी भइरहेको उनले जानकारी दिए।  पीडितका परिवार बाजुरा दलित नेटवर्क सञ्जाल भने बलात्कारको घटनामा भन्दा प्रहरीले पीडकले दिएको जाहेरीमा बढी प्राथमिकता दिएर काम गरेको आरोप लगाउँदै आएका छन्।  सेतोपाटीबाट साभार