राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा कुन दलको मतभार कति ?
2024/01/05, 1:42
 
dd

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिदैछ । कार्यकाल सकिनुभन्दा एक महिना पहिले नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्वाचन आयोगले अगामी माघ ११ मा रिक्त हुने सिटका लागि निर्वाचन गर्दैछ ।

त्यसका लागि पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रियसभातर्फ सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका तीन सदस्यको कार्यकाल २० फागुनमा सकिने भएकाले निर्वाचन हुनेछ ।नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका कैलालीका हरिराम चौधरी उत्सव, डडेल्धुराका महेश महरा र नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरकी इन्दु कडरियाको पदावधी सकिन लागेकाले तीन सिटका लागि निर्वाचन हुनेछ ।

तीन सिटका लागि उम्मेदवार बनाउन कतिपय राजनीतिक दलले प्रदेशबाट केन्द्रीय कमिटिमा आकांक्षीहरुको नाम पठाइसकेका छन् भने कतिपय छलफलमै रहेको बताउँछन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ९ वटा जिल्लाबाट आएका ८२ जना आकांक्षीको नाम जस्ताकोत्यस्तै केन्द्रीय समितिमा पठाइसकेको जनाएको छ । कांग्रेसले प्रदेश महामन्त्री नरनारायण शाह समेतका ८२ जनाको नाम केन्द्रमा पठाएको हो ।

यस्तै सत्तारुढ गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि देवराज रेग्मी, रेणु चन्द र गम्भीर थापा समेतका २१ जना आकांक्षीको नाम केन्द्रीय कमिटिलाई पठाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश कमिटिले भने केन्द्रीय कमिटिलाई नाम सिफारिस गर्न बाँकी छ । जिल्लाबाट प्रदेशलाई आकांक्षीको सूची आइसकेको र प्रदेश समितिले रायसहित ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटिमा सिफारिस गर्ने जनाएको छ ।

यी बाहेक नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलले पनि राष्ट्रियसभा निर्वाचननलाई लिएर आन्तरिक रणनीति बनाइरहेका छन् भने आकांक्षीहरुको नाम केन्द्रीय कमिटिमा पठाउने तयारी गरेका छन् । राष्ट्रियसभा निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विभिन्न कोणबाट छलफल जारी रहेका बेला प्रदेशमा आकांक्षीहरु पनि आ–आफ्नो ढंगले लबिङमा लागेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि गत बैशाख र मंसिरमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । कांग्रेसले स्थानीय तह र प्रदेशसभामा सबैभन्दा बढि ठाउँमा जितेको थियो । कांग्रेसले ८८ वटा स्थानीय तह मध्ये ४० ठाउँमा प्रमुख तथा अध्यक्ष र ४६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसले १९ ठाउँमा जितेको थियो । आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको सिट रिक्त छ । अहिले प्रदेशसभामा कांग्रेसका १८ सदस्य छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभामा स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको मतभार १९ र प्रदेशसभाका सदस्यको मतभार ५३ कायम गरेको छ । यो हिसाबले कांग्रेससँग स्थानीय तहतर्फ १६३४ र प्रदेशसभातर्फ ९५४ गरेर कुल २५८८ मतर रहेको छ ।

दोस्रो ठूलो दल नेकपा एमालेले स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा २६ ठाउँ र उपप्रमुख तथा उपाध्यक्षमा २४ ठाउँमा जितेको थियो भने प्रदेशसभामा १० जना सांसद छन् । यो हिसाबले उसको मतभार स्थानीय तहमा ९५० र प्रदेशसभामा ५३० गरेर १४८० रहेको छ ।यस्तै तेस्रो दल नेकपा माओवादी केन्द्रले १४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ११ मा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । प्रदेशसभामा सभामुखसहित ११ सांसद छन् । माओवादीको स्थानीय तहतर्फ ४७५ र प्रदेशसभातर्फ ५८३ गरेर कुल मतभार १०५८ छ ।

४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष र ७ जना प्रदेशसभा सदस्य जितेको नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, २ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष जितेको नेकपा एकीकृत समाजवादीको मतभार ३०७ रहेको छ । स्थानीय तहमा दुई प्रमुख र अध्यक्ष तथा एउटा उपाध्यक्ष स्वतन्त्रले जितेका थिए । उनीहरुको मतभार ५७ रहेको छ। प्रदेशसभामा राप्रपासँग एक जना सांसद रहेकाले उसको मतभार ५३ छ भने एक जना स्वतन्त्र सांसदको मतभार पनि ५३ छ ।

यो हिसाबले हेर्दा सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभामा कुल ६१०० सय मतभार रहेकोमा ७३ प्रतिशत अथात् ४४५७ अहिले कायम सत्तारुढ गठबन्धनसँग छ । केन्द्रीय समिकरणअनुसार सुदूरपश्चिममा पनि कांग्रेसको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको गठबन्धन रहेको छ । सत्तारुढ गठबन्धनसँग ७३ प्रतिशत मतभार हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग १४८० र राप्रपाको मतभार ५३ मात्र रहेको छ भने स्थानीय तहको ५७ र प्रदेशसभाको ५३ गरेर ११० मतभार स्वतन्त्रको रहेको छ । अहिलेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा पनि प्रमुख विपक्षी दल नेकपा एमाले शून्य हुने अवस्थामा छ भने सत्तारुढ गठबन्धनसँग सुविधाजनक मत छ।