‘शरीरको लुगा बाहेक केही बाँकी रहेन’
2020/07/06, 11:26
 
pahiro

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शुक्रबार राति १ बजेतिर आएको पहिरोमा स्थानीय ६ जनाले ज्यान गुमाएका छन् भने १८ परिवारको घर र जिन्सी सम्पत्ति पूर्ण रूपमा बगाएको छ । पहिरोमा परी घरवार विहीन भएकाले घटनाको दुई दिनसम्म पनि राहत नपाउँदा समस्या भएको बताएका छन् । पहिरो पीडितका लागि सेनाको हेलिकप्टरले शनिबार नै ल्याएको त्रिपाल, कम्बल र चामल बजारमा थन्किएको छ ।

सेनाको एमआई–१७ हेलिकप्टर अवतरण गर्न मल्लेसी गाउँमा ठाउँको नभएपछि सदरमुकाम स्थित भोपुर ब्यारेकमा छोडेर फर्किएको थियो । त्यहाँबाट राहत सामग्री गाडीमा राखेर झोता बजारसम्म पु¥याए पनि झोताबाट बोकेर गाउँसम्म लैजान सक्ने मानिस नभेटिएकाले त्यतै थन्किएको वडाध्यक्ष गणेश बोहराले बताए । मल्लेसी गाउँ पुग्न जयपृथ्वी राजमार्गबाट झन्डै ३ घण्टा उकालो हिँड्नुपर्छ । ‘हामीसँग शरीरमा लगाएको लुगाबाहेक केही पनि छैन,’ पहिरोले घर बगाएकी धौली जेठाराले भनिन्, ‘अहिलेसम्म कतैबाट कुनै सहायता पनि पाएका छैनौं । कोही स्कुलमा त कोही आफन्तको घरमा बसिरहेका छौं ।’

उनले पहिरोमा सर्वस्व गुमाएका परिवारलाई लगाउने लुगादेखि खाने बस्ने सबै कुराको समस्या भएको बताइन् । ‘एक दुई जना मात्रै भए त आफन्त कहाँ बस्न हुन्थ्यो, सिंगै गाउँ नै पाल्नुपर्ने भएर समस्या भयो,’ अर्का पीडित राजेन्द्र जेठाराले भने, ‘सरकारले केही सहयोग गरे पाल टाँगेरै भए पनि बस्थ्यौं । अहिलेसम्म कसैले सहयोग गरेको छैन ।’

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले हेलिकप्टरले छोडेको राहत सामग्री झोता बजारबाट ढुवानी गर्ने जिम्मा वडा कार्यालयलाई दिएको बताए । उनले जिल्ला दैवी प्रकोप उद्धार समितिले दिने राहत सोमबार वितरण गरिने बताए ।

गोठ पुरिँदा एकको मृत्यु
जयपृथ्वी नगरपालिका वडा नं ७ सुवेडाको चौपाखेमा आइतबार दिउँसो पहिरोमा परी स्थानीय कर्मराज जोशीका १२ वर्षीय छोरा शिवराज जोशीको मृत्यु भएको छ । स्थानीय जनेश्वर जोशी घाइते छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हो । पहिरोमा घाइते जनेश्वरको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पहिरोमा पुरिएर शिवराज जोशीको एउटा भैंसी पनि मरेको छ । दिउँसो साढे ४ बजेतिर आएको पहिरोले त्यहाँ रहेका चार भैंसीगोठ पूर्णरूपमा बगाएको छ । मृतक बालक पहिरो खसेका बेला गोठभित्र बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए ।