चिसोले जनजीवन प्रभावित
2024/01/10, 1:28
 
aa

कैलालीसहित तराईमा बढ्दै गएको चिसोका कारण जनजीवन प्रभावित भएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर बाहिर आवतजावत गर्न कठिनाइ भएको हो । 

आज विहानबाट शितलहरसहित अत्यधिक चिसो हावा चल्न थालेपछि चिसो झनै बढेको छ । चिसोका कारण बाहिर हिँडडुल गर्न समस्या हुने गरेको अटो चलाएर गुजारा गर्दै आउनु भएका धनगढीका विष्णु चौधरीले बताए। अटो गुदाउदा चिसो झन लाग्ने गरेकाले कामकाजमा समस्या भइरहेको उनले बताए। 

जाडोका कारण स्कुल जाने बालबालिका, दैनिक ज्यालादारीमा घर बनाउने, सडक बनाउनेलगायतका काम गर्ने कामदारहरुलाई समस्या भएको छ । यसैगरी, वृद्धवृद्धा अत्यधिक प्रभावित भएका छन् । चिसो बढेपछि जाडो छल्नका लागि मान्छेले ठाउँ ठाउँमा आगो बालेर तापिरहेको देख्न सकिन्छ । 

तराईका अधिकांश भू–भागमा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शितलहरसँगै चिसो बढेकाले स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक रहेको भजनी नगरपालिकास्थित धनौरा आधारभूत स्वास्थ्य केन्द्र धनौराका प्रमुख लक्ष्मीप्रसाद जोशीले बताए । कैलालीमा विगत केहि दिनदेखि कुहिरो लागि रहेको छ । कुहिरोका कारण घामसमेत लाग्न सकिरहेको छैन । विहानदेखि अपराह्नसम्मै बाक्लो कुहिरो लाग्दा चिसो बढ्दै गइरहेको छ ।