आजदेखि अत्तरियामा महोत्सव सुरु हुँदै, सांसद बलायरले उद्घाटन गर्ने
2024/01/11, 1:08
 
aa

कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ । अत्तरियाको लामिताल परिसरमा बिहीबार देखि आठौं संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवको पूर्वसन्ध्यामा बिहान ११ बजेदेखि प्रभातफेरी गरेर १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रभातफेरिमा यस क्षेत्रको कला संस्कृति झल्किने झाकी, बाजागाजा सहित बजार परिक्रमा गरी महोत्सवको उद्घाटन गरिने अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक राज देवकोटाले बताए । उनले महोत्सवको कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीर बहादुर बलायरले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताए । उनले महोत्सव स्थलमा सम्पूर्ण पूर्वाधारको तयारी पुरा भएको बताए । १५० स्टल निर्माण गरिएको महोत्सवमा सबै बुक भइसकेको जनाइएको छ । महोत्सव स्थलमा रमाइलो मेलाका पूर्वाधार पनि तयार गरिएका छन । यस वर्षको महोत्सवमा पनि विगतका जस्तै डुङ्गाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस वर्ष महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार गरिएको छ । महोत्सव भित्रै मिनी महोत्सवको झल्को दिने गरी छुटै मञ्च र स्टल तयार पारिएको छ । सोनारी राप्ती मिडिया प्रालि बाँकेको व्यवस्थापनमा थारू गाउँ प्रदर्शनी आयोजना गरिएको हो । थारू गाउँ प्रदर्शनीका व्यवस्थापक हेमन्त चौधरीले प्रदर्शनीमा १० वटा स्टल, थारू संग्रहालय सँगै मञ्चमा विभिन्न प्रस्तुती देखाइने बताए ।

‘हामीले यो क्षेत्रमा पहिलो पटक थारू गाउँ प्रदर्शनी आयोजना गरेका छौ’ उनले भने ‘प्रदर्शनीमा थारू संस्कृतिको कला संस्कृति प्रदर्शन सँगै अन्य जातीका मानिसहरूलाई पनि थारू समुदाय कला, संस्कृति, खानपानको बारेमा जानकारी दिने छौ ।’ उनले प्रदर्शनी भित्र राखिएको थारू संग्रहालयमा १ सय ५० भन्दा बढी पौराणिक बस्तु संकलन गरेर राखिने बताए ।

उनले थारू गाउँको प्रदर्शनीमा थारू समुदायका कलाकारहरूको छुटै प्रस्तुती रहने बताए । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनमा मंगलबार देखि सञ्चालन हुने महोत्सव माघ ७ गते सम्म सञ्चालन हुँदैछ । महोत्सवमा थारू गाउँ प्रदर्शनीले यस क्षेत्रको कला संस्कृति संरक्षणमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा अपाङ्गता जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिइएको संघका महासचिव शंकर खड्काले बताए । उनले महोत्सवमा ७५ प्रतिशत बढी कलाकार सुदूरपश्चिमका भएको बताए । यस पटकको महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समुहलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । जसमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी समुहलाई ११ हजार ११, द्वितीय हुनेलाई ६ हजार १११ र तृतीय हुनेलाई ४ हजार १११ रुपैयाँ दिइने जनाइएको छ ।

महोत्सवमा प्रस्तुत गरिने स्थानीय नृत्यको पनि उचित पारिश्रमिक दिइने महासचिव खड्काले बताए । उनले महोत्सवमा नृत्य प्रस्तुत गर्नको लागि ६ वटा क्लबसँग सम्झौता गरिएको बताए । यसैबीच महोत्सवमा काटिएको टिकटबाट एक रुपैयाँ अत्तरियामा ब्लड बैंक स्थापनाका लागि दिइने भएको छ । अत्तरियामा रहेको रेडक्रसको कार्यालयले ब्लड बैंक स्थापनाका लागि टिकट मार्फत एक रुपैयाँ संकलन गर्ने भएको हो ।