पार्टी अध्यक्षमा रेशम-रञ्जिता दुवैको दाबी, कसले मार्ला बाजी ?
2024/01/11, 2:12
 
kk

सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टीकापुरमा सुरु हुन लागेको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ ।

नाउपाले दिएको जानकारी अनुसार महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरुलाई निमन्त्रण गरिएको छ । त्यस्तै महाधिवेशनका लागि नाउपाले भारतीय जनता पार्टी भाजपाका प्रतिनिधि समेत लाई डाकेको छ ।

अधिवेशनमा ५२ जिल्लाका ८ हजार भन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् । ३९ पदाधिकारीसहित २४१ जना केन्द्रीय कमिटी गठन गर्ने नाउपाको तयारी रहेको छ । नाउपाले मनोनीत केन्द्रीय सदस्यसमेत गरेर कूल ५०१ जनाको केन्द्रीय कार्यसमिति बनाउने तयारी गरेको छ । नाउपाको महाधिवेशनबाट नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगै पार्टींका संरक्षकसमेत रहेका पूर्व सांसद रेशमलाल चौधरीले दाबी गरेका छन् । पार्टी अध्यक्षमा दाबी गरेका रेशम र रञ्जिता श्रीमान् श्रीमती हुन् ।

रेशम नरसंहारकारी टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएपछि जेलमा रहेको बेला २ वर्षअघि रञ्जिाताले आफ्नै नेतृत्वमा नाउपा निर्वाचन आयोगमा दर्ता गराएकी थिईन् । २०७२ भदौंमा थरुहट आन्दोलनको क्रममा टीकापुरमा भएको घटनामा एक बालकसहित ८ जनाको ज्यान गएको घटनामा जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायल डोटी र सर्वोच्च अदालतसमेतबाट जन्म कैदको सजाय पाएका रेशम गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएका थिए ।

राष्ट्रपति बाट आममाफी पाएर खुल्ला राजनीतिमा आएपछि पार्टी संगठन विस्तारका लागि देश दौडाहामा रहेका रेशमले निर्वाचन आयोग र कानूनविदसँग सल्लाह गरेर नै पार्टीको नेतृत्व लिनेगरी तयारी थालेको स्रोतले बताएको छ । नाउपाको विधानमा एक व्यक्ति एउटै पदमा एक कार्यकाल भन्दा धेरै पदमा रहन नसक्ने व्यवस्था भएको हुँदा रेशम नेतृत्व लिनेगरी अगाडि बढेका हुन् ।

रेशमले पार्टीको नेतृत्व लिनेगरी तयारी थालेपछि वर्तमान सरकारकी भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्रीसमेत रहेकी रञ्जिाताले पनि पार्टीको विधान संशोधन गरेरै भएपनि थप एक कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना राखेकी छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरिदिएपछि गत जेठ १५ गते जेलबाट रेशम छुटेपनि उनलाई बाँकी कैद मिनाहा गरिदिने निर्णय विरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

रञ्जिता सरकारमा समेत सामेल रहेको र मन्त्रालयको काम कारबाहीमा ध्यान दिनुपर्ने हुँदा पार्टीको गतिविधि अघि बढाउन आफ्नो नेतृत्व अपरिहार्य रहेको रेशमको बुझाई रहेको छ भने रेशम जेलमा रहँदासमेत प्रत्यक्षतर्फनै संघीय संसद्मा चार सिट जित्न सफल भएको र थप एक कार्यकाल पार्टीको नेतृत्व लिने अवसर पाएमा आगामी निर्वाचनमा पार्टीलाई सम्मानजनक हैसियत दिलाउन सफल हुने रञ्जिताको विश्वास रहेको छ ।

पार्टी नेतृत्वका लागि श्रीमान श्रीमतीले नै दाबी गरेपछि अन्य कसैले पनि हालसम्म अध्यक्षका लागि दाबी प्रस्तुत गरेका छैनन् ।