नागरिक उन्मुक्ति पार्टीले दुई महासचिव चयन गरेको छ। कैलालीको टीकापुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनले आकांक्षीको व्यवस्थापन गर्न दुई महासचिव बनाएको हो। प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी र लुम्बिनी प्रदेश बर्दियाका ठाकुरसिंह थारुलाई महासचिव चयन गरिएको घोषणा गरिएको छ।
एक महासचिवमा गंगाराम चौधरी, ठाकुरसिंह थारु र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीको उम्मेदवारी परेको थियो। एउटा महासचिव मात्रै राख्ने व्यवस्था रहेकामा शुक्रबार मध्यराति विधान संशोधन गरेर दुई महासचिव राख्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी प्रदेशको चित्त बुझाउन नागरिक उन्मुक्ति पार्टीले विधान नै संशोधन गरेको छ।
शुक्रबार राति विधान संशोधन गरेर दुई महासचिव राख्ने विषयमा सहमति जुटेको महासचिवका आकांक्षी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीले बताए। तीन जनाको दाबी रहेको महासचिवमा लुम्बिनी प्रदेशको पनि प्रतिनिधित्व हुने पर्ने आवाज चर्को रुपले उठ्दा सहमति जुटेको थिएन। जसले गर्दा महासचिवमा निकै रस्साकस्सी चलेको थियो।
महासचिवमा ठाकुरसिंह थारुलाई अर्का दाबेदार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीले सघाए। ‘प्रत्येक भूगोलबाट प्रतिनिधित्व गर्नु पर्ने माग थियो। लुम्बिनी प्रदेशबाट उहाँ ठाकुरसिंह थारुको नाममा सहमित भयो,’ उनले भने, ‘विधान संशोधन गरेर दुई महासचिव बनाइएको हो।’
अध्यक्षमा रेशमलाल चौधरीसहित नागरिक उन्मुक्तिको अधिकाँस कार्यसमिति निर्विरोधन निर्वाचित भएको छ। अहिले नयाँ कार्य समितिको पहिलो बैठक बस्ने तयारी भइरहेको छ।