थारु समुदायमा माघीको रौनक
2024/01/14, 1:27
 
kk

तराईका भूमिपूत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा मनाइने माघ पर्व सो समुदायमा आजबाट सुरु भएपछि थारु बस्ती माघमय बनेको हो । 

माघ थारु समुदायको महान पर्व हो । यसलाई निकै उल्लासपूर्वक धुमधामसँग मनाउने गरिन्छ । पहिलो दिन आज बिहानैबाट जिता मार्ने कार्य भइरहेको गौरीगङ्गा नगरपालिकास्थित नुक्लीपुरका दिनेश दहितले बताए । उनका अनुसार बिहानै जिता मारेर आज हरेकको घरघरमा सुँगुरको मासुसहित मिठा परिकार पाक्ने गर्छ । यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठामिठा परिकार खाने चलन रहेको दहितले बताए । माघको पहिलो दिन थारु संवतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको बताइएको छ । 

माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । भोलिदेखि थारु संवत् २६४७ सुरु हुँदैछ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मीयता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । यसैगरी, मासु, ढिक्रीलगायतका परिकार खाने र आफन्तलाई खुवाउने गरिन्छ । 

माघ २ गते अर्थात् माघ पर्वको अन्तिम दिन खोज्नीबोज्नी हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षको लागि योजना बनाउने गरिन्छ । यसैगरी, यही दिन गाउँको नेतृत्व गर्ने व्यक्ति चयन गर्ने चलन पनि छ । माघको अन्तिम दिन नै आफ्ना विवाहित छोरीचेलीलाई उपहारको रुपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ । 

यसरी पश्चिम कञ्चनपुरदेखि दाङसम्मका थारु समुदायमा तीन दिनसम्म धुमधामसँग माघ पर्व मनाउन चलन छ । यसपर्वलाई स्वतन्त्रताको पर्वको रुपमा पनि लिने चलन रहेको मुक्त कमैया परिवारकी बिस्मति चौधरीले बताइन । उनका अनुसार विगतमा कमैया, कम्लहरीले माघमा मालिकको घरबाट छुटकारा पाउने गरेका कारण उनीहरुले यसलाई स्वन्त्रताको पर्वका रुपमा पनि लिने गर्दछन् ।