सीमा नाकामा काम गरिरहेका स्वास्थ्यकर्मीले पाएनन् ५ महिनादेखि तलब
2024/01/15, 2:55
 
dd

कैलाली र कञ्चनपुरका सीमा नाकामा रहेका स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन् । गौरीफन्टा सीमा नाकामा रहेका हेल्थ डेस्कका कर्मचारीले ५ महिनादेखि पारिश्रमिकबिनै काम गरिरहेका हुन्। उनीहरुले साउनयता तलब पाएका छैनन् ।

नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्। साउनमा तलब खाएको त्यसपछि बजेट छैन भन्दै तलब नपाइएको उनीहरुले बताएका छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीले खर्च चलाउन समेत गाह्रो भइसकेको उनले बताए । उनले ‘पारिश्रमिक मात्रै नभई करार पनि नथपिएको बताए । उनले भने, काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन्, न करार थपिन्छ,न पारिश्रमिक आउछ । गड्डाचौकी हेल्थ डेस्कमा १२ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

गौरीफन्टा नाकामा रहेको हेल्थडेस्कमा पुसदेखि कोरोना परीक्षणमा कडाई गरिएको छ। मंगलबारसम्म १२ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार मात्रै १ सय ८० जनाको एण्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए । ‘६ महिनादेखि पारिश्रमिक नपाएरै काम गरिरहेका छौं,’ साउँदले भने, ‘निर्देशनालयमा बुझ्दा विभागबाटै आएको छैन भन्ने खबर आउँछ, पारिश्रमिक कहिले पाइने हो कुनै ठेगान छैन ।’

पुस पहिलो साता भारतबाट घर फर्किने ९ जनामा संक्रमण देखिएको थियो । दिल्ली, बेङ्लौर र चन्दीगढलगायतका क्षेत्रबाट आएकामा संक्रमण देखिएको थियो । गड्डाचौकीमा अहिले दैनिक २५र३० जनाको परीक्षण भइरहेको छ । सुदूरपश्चिममा गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुलामा गरी ४ स्थानामा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ । विभागबाटै बजेट निकासा नभएका कारण तलब दिन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन हेमराज जोशीले बताए । जोशीका अनुसार सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन् । उनीहरुले साउनपछि पारिश्रमिक पाउन सकेका छैनन् ।