खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित
2024/01/16, 9:35
 
dd

माघ महिना सुरु भइसक्दा समेत वर्षा नहुँदा डोटीका ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्न थालेको छ । जिल्लाका विभिन्न क्षेत्रमा किसानले खेतमा लगाएको गहुँ, मसुरो, तोरीलगायतको हिउँदे बाली सुक्न थालेको हो । 

सिँचाइको अभावमा कतिपय स्थानमा गहुँ उम्रिनसमेत सकेको छैन । गहुँ लगाइएको खेतबारी बाँझो हुन थालेपछि स्थानीयलाई भोकमरी हुने चिन्ताले सताउन थालेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका –२ बग्लेग गाउँका स्थानीय रामबहादुर वलीले भने, ‘अरु बेला यो समयसम्म दुई–तीन पटक हिउँपरि सक्थ्यो, यो वर्ष त कात्तिक यता पानी नै परेन । लगाइएको गहुँ उम्रिएको छैन । यो वर्ष त भोकमरी हुने डरले सताउन थालेको छ ।’

जिल्लामा धेरैजसो खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा भएका स्थानमा समेत पानीको मुहान सुकेका कारण सिँचाइ सुचारु हुन नसकेको स्थानीयको भनाइ छ । यस बर्षको खडेरीका कारण गहुँ नउम्रिएका कारण बाँझोजस्तै देखिएको जमिनतर्फ देखाउँदै डोटीको केआइसिंह गाउँपालिका –३ बासुदेवीकी मैसरा देवी कुँवरले भनिन्, ‘खानेपानीकै मूल पनि सुक्न थालिसके सिँचाइ हुने कुरै भएन ।  बाँझो जमिन देखेर केगरी खाने होला भन्ने चिन्ताले सताउन थालेको छ ।’

कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीका अनुसार जिल्लामा १४ हजार २ सय १९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नभएका कारण किसानले आकाशे पानीको भर पर्नुपरेको छ । डोटी जिल्लामा १४ हजार २ सय ९० हेक्टरमा गहुँ खेती गरिँदैआएको छ । सिँचाइ सुविधा भएका क्षेत्रहरुमा गहुँ बाली जोगिए पनि लेकाली र सिँचाइ सुविधा नभएका क्षेत्रमा माघ महिनामा पनि बर्षा नभए गहुँ उत्पादन असर पर्ने बताइएको छ । 

निमित्त कार्यालय प्रमुख अवस्थीले भने, ‘जिल्लामा विभिन्न स्थानमा अनुगमनको क्रममा जाँदा मैले गहुँबाली सुकेको देखेको छु । अब लामो समयसम्म बर्षा नभएर यस्तै अवस्था रहेमा साग तरकारी र फलफूल उत्पादनमा समेत असर पर्ने देखिन्छ ।’ जिल्लामा ८२ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ । डोटीमा गत बर्षमा २३ हजार ८ सय ९८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।