सुदुरपश्चिम प्रदेशसभाको ६ बर्ष, व्यवस्था विरुद्धका आवाजहरु उठ्न थालेपछि नेताहरु नै त्रसित
2024/01/22, 12:20
 
dd

 सुदुरपश्चिम प्रदेशसभा स्थापनाको ६ बर्ष पुरा भएको छ । २०७४ साल माघ ६ गते स्थापना भएको प्रदेशसभाले ६ बर्ष पुरा गरेको हो । प्रदेशसभाको ६ बर्षे अवधीमै संघियता बिरुद्ध प्रश्न उठ्न थालेको भन्दै प्रदेशसभा सदस्यहरुले चिन्ता ब्यक्त गरेका छन् । देशलाई संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गरेको छोटो समयमै यसका बिरुद्ध आवाज उठ्नु गलत भएको ठम्याउँदै प्रदेशसभा सदस्यहरुले ब्यवस्था बिरोधीका बिरुद्ध राजनितिक दल एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । स्थापनाको ६ बर्ष पुरा भइरहेका बेला संघियता बिरुद्ध उठिरहेका आवाजले नेतृत्वहरुलाई पिरोलिरहेको छ । प्रदेशसभाको ६ बर्ष पुरा भएको अवशरमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले ब्यवस्था बिरुद्ध उठेका प्रश्न बारे चिन्ता ब्यक्त गरेका छन् ।

ब्यवस्था ल्याउनकै लागी गरेको १० बर्षे जनयुद्धलाई असफल पार्न केही तत्व लागेको प्रदेशसभा सदस्य अक्कल रावलले बताए । हामीले लामो संघर्षपछि यो ब्यवस्था ल्याएका हौँ उनले भने “पहिलो कार्यकालमा यसको जग बसालेका छौँ र धेरै कानुनपनि निर्माण गरेका छौँ, ति कानुनको कार्यान्वयन गर्नुपर्ने दायित्व हाम्रो हो, हामीले आफ्ना क्रियाकलाप सुधार्नुपर्छ र सामान्य घटनाक्रमबाट बिचलित हुनुहुँदैन, केही ब्यक्तीका कारण ब्यवस्थामाथी प्रश्न उठिरहेका छन्, यो राम्रो होइन ति आवाज बिरुद्ध हामी एक हुनुपर्छ, हामीले ल्याएको ब्यवस्था जोगाउने जिम्मापनि हाम्रै हो । ”

केही छिटफुट ठाउँमा संघियता बिरुद्ध उठिरहेका आवाजको त्रासमा उनिहरु छन् । लामो संघर्ष पछि प्राप्त गरिएको ब्यवस्था बिरुद्ध लाग्नेका बिरुद्ध एकजुट हुनुपर्ने छ नेपाली काग्रेंका प्रमुख सचेतक बिक्रम धामीले भने “प्रदेशसभा स्थापनाको यति छोटो समयमै प्रदेश खारेजी सम्मका आवाज उठ्नु गलत हो, यति छोटो समयमै प्रदेशको मुल्याकंन गर्न मिल्दैन, तर हाम्रा बानी, ब्यवहार सुधार्न भने अति आवश्यक छ ।”
आफुहरुले लडेर ल्याएको ब्यवस्थाकै कारण जनताको घर आगनमा सरकार पुगेको दावी गर्दै यसको रक्षा गर्ने दायित्व सबै राजनितिक दलले लिनुपर्नेमा जोड दिएका हुन् । यो ब्यवस्थालाई उल्ट्याएर फेरी जनताका अधिकार कुल्चिन खोजिदै छ हामीले त्यसको प्रतिकार गर्न सक्नु पर्छ नेकपा एकिकृत समाजवादी दलका नेता दीर्घ सोडारीले भने “हामीले काम नगरेको होइन, मात्रै फेसबुक र युटुबमा प्रचार गर्न नसकेका हौँ, बैतडीको तल्लोसोराड, पुर्चौँडी, बानुराको कोल्टी, अछामको बिकट क्षेत्र, डडेल्धुराको जोगबुडा लगायतका दुर्गम ठाउँमा प्रदेशका ठुला योजना अहिलेपनि लागु छन्, धनगढीको मुख्य सडक प्रदेश सरकारकै लगानीमा निर्माण हुँदैछ, करोडौँका ठुला देखी लाखौँका साना योजना प्रदेश आएपछिनै लागु भएका छन्, त्यो भन्दा अघी किन आएनन्, त्यो सोच्नुपर्ने छ, अनी कसैको भनेकै आधारमा प्रदेशलाई गलत भन्न मिल्दैन, हामीले लडेर ल्याएको ब्यवस्था कसैको उक्साहटमा बदलिन्छ भन्न सुहाउँदैन ।”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेपनि ब्यवस्था बिरुद्ध उठेका आवाज बिरुद्ध एक हुनुपर्नेमा जोड दिएको छ । बर्तमान नेतृत्वबाट सरकार सञ्चालनमा भएको कमी कमजोरीकै कारण ब्यवस्था बिरुद्ध आवाज उठिरहेको एमालेले जनाएको छ । सरकारले कामको गती बढाउन नसक्नुकै कारण ब्यवस्था बिरुद्ध प्रश्न उठेको एमाले नेता राजेन्द्र रावलले बताए । सरकारको नेतृत्वकर्ता नसच्चिदासम्म ब्यवस्था बिरुद्धका प्रश्न नरोकिने उनको तर्क छ । रावलले प्रदेश सरकारका कारण सङ्घीयता र गणतन्त्र कमजोर भइरहेको बताए । उनले सरकारका मन्त्रालयमा बुख्याचाहरु प्रवेश गरेको आरोप लगाए ।

यता सरकारले भने पहिलो कार्यकालमा संघियताको जग बसाल्न सफल भएको दावी गरेको छ । पहिलो बर्ष चालु भएका योजनाको निरन्तरता र थप जनतासंग जोडिने गरी नयाँ योजना लागु भएको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले बताए । उनले सरकार केही कानुन संसोधन गरी समय सापेक्ष रुपमा गती बढाउने तिर केन्द्रित रहेको दावी गरे । सुदुरपश्चिममै हजारौँ रोजगारी श्रृजना गर्ने उद्देश्यले आयोजना हुने लगानी सम्मेलनको सरकार तिब्र तयारीमा रहेको उनले बताए । सरकार नतिजा दिने गरी काम गरिरहेको धामीले बताए । प्रदेशसभा स्थापना दिवश कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताए । प्रदेश प्रमुख जोशीले अगाडि भएका जनप्रतिनिधिले संविधानअनुसार सही बाटो देखाए व्यवस्था समेत बलियो हुने बताए ।

सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, नागरिक उन्मुक्ती पार्टीका टीकादेवी थापालगायतले प्रतिगामीहरुले सङ्घीयताको विरोध गरेको, आफूहरुले योविचमा भएका कामबारे जनतालाई बुझाउन नसकेको बताएका थिए । कार्यक्रममा लोकतान्त्रिक गणतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।