सहजपुर-बोगटान-दिपायल सडकमा कालोपत्रेको कामले गति लियो
2024/01/23, 3:41
 
dd

कैलालीको सहजपुर देखी बोगटान(दिपायल सडकमा कालोपत्रेको कामले गति लिएको छ। चार दशकदेखि चुनावी मुद्दा बन्दै आएको सहजपुर-बोगटान-दिपायल सडक निर्माणले पछिल्लो समयमा गति लिएको हो। सडकको जिरो प्वाइन्ट सहजपुर र गन्तव्य स्थान दिपायल दुवैतर्फबाट कालोपत्रे भइरहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

सडकको गन्तव्य स्थान दिपायल राजपुरदेखि केआई सिंह गाउँपालिका- ४ को वायलसम्म करिब २० किलोमिटर सडक गत आर्थिक वर्षमै कालोपत्रे भइसकेको छ। वायलदेखि बोगटान फुड्सिल गाउँपालिका-६ को मट्घरसम्मको सडक कालेपत्रे तीव्र गतिमा भइरहेको छ। पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्राविधिक अञ्जु कुँवरले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा २७ किलोमिटर सडक कालोपत्रे भइरहेको जानकारी दिइन्। वायलदेखि केआई सिंह गाउँपालिका ३ को बासुदेवीसम्म ७ किलोमिटर र बासुदेवीदेखि मट्घरसम्म २० किलोमिटर सडक कालोपत्रेको अर्को ठेक्का रहेको उनले बताइन्। २२ करोड ७६ लाख ७५ हजार रुपैयाँ लागतमा बासुदेवीसम्मको ७ किलोमिटर सडक तीव्र गतिमा कालोपत्रे भइरहेको प्राविधिक कुँवरको भनाई छ।

सो कार्यका लागि राजेन्द्र-दुनिला जेभीसँग २०७९ साल असार २२ गते सम्झौता भएको थियो। २०८१ साल बैशाख मसान्तसम्म सम्पन्न हुनुपर्ने उक्त कार्यको हालसम्म ७५ प्रतिशत काम भइसकेको उनले बताइन् ।उनका अनुसार प्रदेश सरकारकै ६५ करोड ७८ लाख ३७ हजार रुपैयाँ लागतमा बासुदेवीदेखि मट्घरसम्म २० किलोमिटर सडक कालोपत्रे भइरहेको छ। प्राविधिक कुँवरले गत असार २२ गते राजेन्द्र(तेज(दुनिला जेभीसँग सम्झौता भई काम अघि बढिसकेको र हालसम्म १० प्रतिशत प्रगति भएको बताईन् । उनले यो सडकखण्डको काम २०८३ असार मसान्तसम्म सक्नुपर्ने गरी सम्झौता भएको बताइन्।

उता, कैलालीको सहजपुर ९जिरो प्वाइन्ट० देखि बडीकेदार गाउँपालिका(५ को अत्तरकाँडासम्म ५२ किलोमिटर सडक संघीय सरकारको कार्यक्रमअन्तर्गत कालोपत्रे भइरहेको छ। सडक कालोपत्रे कार्यको २०७५ साल फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। अढाई वर्षमा काम पूरा हुनुपर्नेमा पाँच वर्ष बित्दासमेत काम सम्पन्न भएको छैन ।२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ५० लाख पावर बजेट हाले पनि सडक निर्माण पूरा भएन।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यो सडक फेरि डोटी क्षेत्र नं २ का उम्मेदवारहरुको साझा र प्रमुख एजेण्डा बन्यो। नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर आलेमगरले यही एजेन्डा उठाएर कार्यकालभर जसरी पनि सडक बनाउने कसम खाए । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यो सडक चुनावी एजेन्डा बन्यो। तत्कालीन वाम गठबन्धनका उम्मेदवारहरूले यही सडकको एजेन्डा उठाए।

प्रतिनिधिसभामा विजयी आलेमगर दुई पटक संघीय सरकारका मन्त्री भए भने प्रदेशसभा ‘ख’ मा विजयी उम्मेदवार त्रिलोचन भट्ट पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भए। सहजपुरबाट निर्माण सुरु भएको सडकले गति नलिएपछि २०५६ सालतिर दातृ निकायहरुको लगानीमा दिपायल राजपुरबाट उक्त सडक निर्माण प्रारम्भ भयो। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा २०७८ साल असोज अर्थात् निर्माण सुरु भएको ३५ वर्षपछि ट्रयाक खोलीएको हो।