जुलियाको प्रेम निशानी ओढेर संसार छाडेका दशरथ चन्द
2024/01/30, 3:28
 
ss

राणा शासनविरुद्ध ‘बगावत’ गरेको आरोपमा २ कात्तिक १९९७ मा काठमाडौंको पकनाजोलबाट पक्राउ परेका थिए, दशरथ चन्द । पकनाजोलको मावली घरबाटै उनलाई उठाएर लगिएको थियो । चन्दभन्दा अघि शुक्रराज शास्त्री पक्राउ परिसकेका थिए । शास्त्रीपछि क्रमशः ‘प्रजा परिषद’का सदस्य र राणाविरुद्ध बगावत गरेको आरोपमा करिब ५ सय व्यक्तिहरू पक्राउ परे ।

राणा शासन अन्त्य गर्ने ध्येयले खोलिएको प्रजा परिषद्‍का उपाध्यक्ष थिए, दशरथ चन्द । पक्राउ परेका बेला उनले लगाएको पहिरनको वर्णन गर्दै डा. राजेश गौतम 'अमर शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन' पुस्तकमा लेख्छन्, ‘कृष्णबहादुर थापा (पक्राउ गर्न गएका मान्छे) घर घेरेर बसिरहे । केही समयपछि दशरथ चन्द डम्बरकुमारी खास्टो ओढेर आए ।’

आजभोलि खास्टोको नामले चिनिने सल, त्यो बेला डम्बरकुमारी सलका नामले प्रख्यात थियो । जंगबहादुर राणाकी छोरी डम्बरकुमारीले भारतको बनारसबाट नेपाल भित्र्याएको हुनाले यसलाई डम्बरकुमारी भन्ने चलन थियो । दशरथ चन्दको जीवन प्रसंग उप्काउँदा धेरैजसो इतिहासकारले डम्बरकुमारी सलको प्रसंग उल्लेख गर्न भुलेका छैनन् । फोटोमा पनि चन्दले सल ओढेकै देखाइन्छ ।

चन्दको चित्र र परिचयसँग गाँसिएको त्यो सल खासमा उनको प्रेमको आखिरी निशानी हो । १५ माघ १९९७ मा गोली ठोकेर मारिने समयमा पनि उनले त्यही सलको सप्को हालेका थिए । कतिसम्म भने पक्राउ परेपछि उनले एक दिन पनि त्यो सल छाडेनन् ।

‘त्यतिखेर दशरथ चन्दले कोइली रंगको चारखाने सुरुवाल, कलसोयौंको कमिज, कालो कस्मिराको इस्टकोट, इस्टकोटको माथिल्लो खल्तिबाट अलिकति सेतो रुमाल देखिएको, अर्को खल्तिमा फाउन्टेन पेन, देब्रे हातको नाडीमा घडी,’ चन्दको ज्यानमा रहेको खास्टोबारे गौतम 'अमर शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन' पुस्तकमा लेख्छन्, ‘डम्बरकुमारी खास्टो, सलझै ओढेका थिए ।’

दशरथ चन्दको प्रेम

बैतडीको बस्कोटमा वि.सं. १९६० मा जन्मिएका चन्द भारतको अल्मोडा, बनारस पुगेर मेट्रिकसम्म अध्ययन गरेर वि.सं. १९८८ तिर काठमाडौं छिरेका थिए । सुरतबहादुर शाहको 'सुदूरपश्चिममा उदाएका अमर नक्षत्र' पुस्तकमा उल्लेख भएअनुसार, काठमाडौं छिरेपछि चन्दले मावली खलकको नाता पहिल्याउँदै तत्कालीन कमाण्डर इन चिफ रुद्र शमशेरका चार बुर्जा दरबारलाई आफ्नो ठेगाना बनाए ।

पुरुषोत्तम शमशेर जबराले 'श्री ३ हरूको तथ्य वृत्तान्तमा' लेखे अनुसार, रुद्र शमशेरको दरबारमा खरिदार पदमा कार्यरत थिए, धर्मभक्त माथेमा । माथेमासँगको परिचयका आधारमा चन्द रुद्र शमशेरको चारबुर्जा दरबारको परिसरमा बस्न पुगे । चन्दका बुबा सुर्खेत क्षेत्रको लप्टन भइसकेका हुनाले पनि उनको राणा खलकसँग राम्रै चिनजान थियो ।

रुद्र शमशेरको दरबारमा पुगेपछि चन्दको दुई जनासँग भेट भयो । एक धर्मभक्त माथेमा, दोस्रो रुद्र शमशेरकी छोरी जुलिया राणा । र, यी दुवै उनको जीवनको अन्तिम घडीसम्म साथमै रहे । माथेमा चन्दसँगै प्रजातन्त्र ल्याउने अभियानमा शहीद भए । दरबारभित्र रहँदा बस्दा, जुलियासँग प्रेममा परे चन्द । अनि चन्दले जुलियालाई दरबारभित्रैबाट पत्र पठाउन थाले । 

पुरुषोत्तम शमशेर जबराले उल्लेख गरेअनुसार, चन्दले सानो महारानी (रुद्र शमशेरकी नातिनी, पुरुषोत्तम शमेशरकी बहिनी) मार्फत दुईवटा प्रेम पत्र जुलियालाई पठाए । सुरतबहादुर शाहको 'सुदूरपश्चिममा उदाएका अमर नक्षत्र' पुस्तकमा कतिसम्म भनिएको छ भने दरबारभित्रबाट जुलिया र चन्द दुरबिनबाट एक-अर्कालाई नियाल्थे ।

‘जुलिया चार बुर्जा दरबारको आफ्नो निवासबाट दुरविनको माध्यमले प्रत्येक दिन दशरथ चन्दका गतिविधि नियाल्न थालिन,’ शाह लेख्छन्, ‘सो कुरा चाल पाएर दशरथ चन्दले भरत बम (गल्कोटे राजा, चन्दका मावलीतर्फका नातेदार)लाई जानकारी दिए । भरतले पनि एउटा दुरबिन ल्याइदिएछन्, दशरथ चन्दका लागि । अब दुवै जना दुरबिनबाट एकअर्कालाई हेरेर अव्यक्त प्रेम इसाराद्वारा प्रकट गर्न थाले ।’

यो प्रेमलाई औपचारिक रूप दिएर वैवाहिक सम्बन्धमा परिवर्तन गर्न नखोजेका पनि होइनन् चन्दले । जुलिया र चन्दको विवाह गराउन रुद्र शमशेर पनि तयारै थिए । विवाह तय भएर चन्दले बैतडीबाट पण्डित पनि बोलाएका थिए । तर, त्यही बेला रुद्र शमशेरको परिवारमा जुठो पर्‍यो ।  

जुलियासँग विवाह हुने पक्का भएपछि चन्द र रुद्र शमशेरको उठबस पनि बाक्लियो । जबरा लेख्छन्, ‘दशरथ चन्द ठकुरीसँग रुद्र शमशेरकी छोरी सुश्री जुलिया राणाको विवाह हुने पक्काझैँ भएकाले उनको बसउठ नै रुद्र शमशेरकहाँ थियो ।’

पहिलो पटकको विवाह मिति जुठो परेका कारण रद्द भएपछि दोस्रो पटक विवाहको मिति तय गरियो । देवीप्रसाद ओझाको 'अमर शहीद दशरथ चन्द' पुस्तकको हवाला दिँदै गौतम लेख्छन्, ‘दोस्रोपल्ट पनि विवाह तय गरी सम्पन्न गराउन बैतडी कुमालीका पण्डित विष्णुदत्त भट्ट र गणेशदत्त जोशी काठमाडौं आए । तर, यसपटक पनि पहिलेजस्तै घटना दोहोरियो र विवाह हुन सकेन ।’

दुई पटक विवाह रद्द भए पनि चन्द र जुलियाको प्रेम भने रद्द भएको थिएन । उनीहरूबीचको प्रेम झन्‌झन् झाँगिँदै गयो, मौलाउँदै थियो । तर, ५ चैत १९९० मा ‘सी’ क्लास राणालाई उपत्यका (नेपाल) कटाउने जुद्ध शमशेरको आदेशले चन्द र जुलियाको वियोग हुन गयो । जुद्ध शमशेरको त्यो राजनीतिक आदेशले चन्द र जुलियाको बिछोड भयो । ५ चैत १९९० मा जुद्ध शमशेरले रुद्र शमशेरको सम्पूर्ण परिवारलाई सम्पत्ति हरण गर्दै उपत्यकाबाट निकाला गरेर पाल्पा पठाए । बुबा रुद्र शमशेरसँगै जुलिया पनि पाल्पा गइन् ।

यता चन्द पनि रुद्र शमशेरले उपत्यका छाडेसँगै रुद्र शमशेरको चार बुर्जा दरबार (हाल निर्वाचन आयोग) छाडेर पकनाजोलस्थित मावली घरमा बस्न थाले । धर्मभक्त माथेमालाई रुद्र शमशेरले नर शमशेरको जिम गुरु बनाएर पठाइसकेका थिए । संयोग, नर शमशेरले नै पछि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हान्ने, झुण्ड्याउने जिम्मा पाए ।

आफ्नी प्रेमिकाको स-परिवारलाई उपत्यकाबाट निकाला गरेपछि चन्द राणासँग क्रुद्ध थिए । 'जुलिया मैया र शहीद दशरथ चन्द, अमर शहीद दशरथ चन्द स्मृति ग्रन्थ'को हवाला दिँदै गौतम लेख्छन्, ‘रुद्र शमशेरलाई षड्यन्त्रपूर्वक पाल्पा पठाइएपछि दशरथ चन्द निकै आक्रोशित बने । एक त उनको काठमाडौंका आश्रयस्थल र अत्यन्त नजिक ठानिएको रुद्र शमशेरको परिवार षड्यन्त्रमा पर्‍यो । अर्को कुरा उनको विवाह पक्कापक्की भएकी जुलियासँग छुट्टिन पर्‍यो । पाल्पामा अस्तव्यस्त जिन्दगी बिताउन पुगेका रुद्र शमशेरको परिवारमा तत्कालै जुलियाको विवाह गराउन सम्भव थिएन । उता पाल्पा पुगेपछि बिहेको कुरा हरायो । त्यसले पनि दशरथ चन्द जुद्ध शमशेरसँग क्रुद्ध भए ।’

राणा हटाउने अभियानमा लागेका चन्द र उनका साथीहरूमध्ये चन्द धेरै नै सक्रिय भए । जुलियाको परिवारलाई उपत्यकाबाट निकाला गरेपछि त राणाविरोधी अभियानमा झन् जोडतोडका साथ सक्रिय भए, चन्द । प्रेम वियोगलाई राणा हटाउने शक्तिमा रुपान्तरण गर्दै चन्द छद्म नाम ‘सेवा सिंह’ र ‘सुशील’बाट भारतको पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा राणाविरोधी लेख लेख्न थाले ।

नेपाल प्रजा परिषद्‍का नाममा चन्दले पहिलोपटक २० जुन १९३८ (असार १९९५ साल) मा ‘नेपाल मे राणाओंद्वारा जनताका शोषण’ शीर्षकको लेख छपाए । टेकबहादुर मल्ल नाम भएका जुद्ध शमशेरका गुप्तचरले पनि छद्म नाम ‘सेवा सिंह’ राखेर जनता पत्रिकामा लेख छपाएको थाहा पाएपछि चन्दले आफ्नो छद्म नाम परिवर्तन गरेर ‘सुशील’ बनाए ।

त्यसपछि त जनता पत्रिकामा राणाविरोधी लेखको बाढी नै लाग्न थाल्यो । 'अमर शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन' मा गौतम लेख्छन्, ‘पछि अरु व्यक्तिहरू (नेपाली र भारतीय) ले राणा व्यवस्था र राणा शासकको विरोधमा लेखहरू आफूखुसी पठाउन थाले । जुन लेखलाई ‘जनता’ पत्रिकाले स्थायी स्तम्भ ‘नेपालकी चिट्ठी’ राखेरै प्रकाशित गर्न थाल्यो ।’

राणाविरोधी लेख निरन्तर छापेपछि ४ मे १९४० मा जनता पत्रिकाका सम्पादक रामवृक्ष बेनीपुरी पक्राउ परे । र, पत्रिकामाथि राणाहरूको अनुरोधमा भारतको अंग्रेज सरकारले प्रतिबन्ध लगायो । ९ असार १९९७ सालमा राणाविरोधी आन्दोलनका पर्चा प्रजा परिषद्‍ले काठमाडौंमा छर्‍यो । पहिलो पर्चा छर्नुअघि नै भारत पठाइए, प्रजा परिषद्‍का अध्यक्ष टंकप्रसाद आचार्य । आचार्य भारत छिरेसँगै चन्द नेपाल फर्किए । नेपाल फर्किँदै गर्दा चन्दले आचार्यलाई भनेका थिए रे, ‘बाँचे फेरि भेटौंला, नभए ठीकै छ ।’

३० असार १९९७ मा राणाविरोधी दोस्रो पर्चा छरियो । यो पर्चा स्कुल, कलेज, बुद्धिजीवी र खासखास व्यक्तिकहाँ पुर्‍याइयो । यो दोस्रो पर्चा आफूले पढाउने स्कुलमा समेत आइपुगेको लेखेका छन्, दमनराज तुलाधरले । उनी लेख्छन्, ‘त्यो पर्चा पढ्न मलाई खुब इच्छा लागेको थियो । एक दिन म फोर्थ क्लासमा पढाउनभित्र जाँदा टेबुलमा एउटा बन्दी खाम भेट्टाएँ । खाम खोलेर हेर्छु त, लिथोग्राफ गरिएको एक पत्र कागज । पक्कै यो सर्वविदित पर्चा नै हो भन्ने विचार गरी खाम खुसुक्क खल्तीमा हालेँ । पर्चावाजी भएदेखि काठमाडौंको सम्पूर्ण वातावरण दूषित भएको थियो । कसैले कसैलाई विश्वास नगर्ने अवस्था आएको थियो । म घर आएर मात्र खामभित्रको पर्चा पढेँ ।’

दोस्रो पर्चा छरिएपछि ११ साउन १९९७ को गोरखापत्रमा राणा शासकले पर्चा छपाउनेबारे बताउनेलाई ५ हजार रुपैयाँ इनाम दिने घोषणा गरे । कात्तिक १९९७ प्रजा परिषद्‍कै सदस्य शुक्रराज शास्त्रीका भाइ रामजी जोशीले राणालाई सूचना दिएपछि प्रजा परिषद्‍का सदस्यहरू पक्राउ परे । पक्राउपछि उनीहरूलाई चरम यातना दिइयो ।  चन्दसँगै पक्राउ परेका चुडाप्रसाद उपाध्यायको भनाइ उद्धृत गर्दै गौतम लेख्छन्, ‘हामीलाई यातान गृहमा प्रवेश गराए । दशरथ चन्दलाई सबैभन्दा पहिला पिट्न थाले । उनलाई दुईवटा बाँसमा एक-एकवटा हात र एक–एकवटा खुट्टा बाँधिएको थियो । त्यसपछि २-३ वटा सिपाहीले क्रमशः उनलाई पिट्न थाले ।’

भारतमा रहेका टंकप्रसाद आचार्यलाई उनका बुबा बिरामी भएको झुटो खबर पठाएर नेपाल फर्काएर सीमानामा पक्राउ गरियो । आचार्यलाई पक्राउ गरेर सिंहदरबारभित्र हाल रेडियो नेपाल रहेको भवनको चौरमा ल्याएपछि चन्दको निर्देशनमा परिषद्‍का सदस्यले आचार्यलाई स्यालुट गरे । ‘राणा भाइभारदारहरूकै अगाडि नेपाल प्रजा परिषद्‍का कमाण्डरलाई स्यालुट गर्ला- स्यालुट गर ! भनेर ठूलो स्वरमा कराए (दशरथ चन्द),’ चन्दको साहस र हिम्मतको बयान गर्दै गौतमले लेखेका छन् । 

राणाविरोधी अभियानमा लागेका सबै पक्राउ परेपछि उनीहरूलाई सजाय दिन जुद्ध शमशेरले विशेष अदालत गठन गरे । अनि, ६ माघ १९९७ मा जुद्ध शमशेरको निर्देशन बमोजिम मिर सुब्बा, महेन्द्रबहादुर महतले सजाय सुनाएको कुरा ‘त्यस बखतको नेपाल भाग २’ मा सरदार भीमबहादुर पाँडे लेख्छन्- ‘दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, र शुक्रराज शास्त्रीहरूलाई ज्यानको सजाय भयो ।’ प्रजा परिषद्‍का अरुभन्दा चन्द सुरिलो र आँटिलो भएको लेख्छन् पाँडे- ‘अरु चार जना क्रान्तिकारीभन्दा श्री दशरथ चन्द उमेरका मात्र हैन, विचारमा पनि पाका, निकै सुरा र त्यागी पनि थिए ।’

चन्दबारेमा उनी थप लेख्छन्, ‘ती पाँच षड्यन्त्रकारीमध्ये श्री दशरथ चन्द १९९१-९२ सालतिर त्रि-चन्द्र कलेजको सेकेण्ड वर्षमा आइए पढ्थे । त्यसबेला उनको उमेर २९-३० वर्ष हुँदो हो । भर्खरै बनारसबाट काठमाडौं आएका, बैतडीका दथरथ चन्द प्रायः हिन्दी बोल्दथे, खद्दरको सुरुवाल र अचकन लगाउँथे । तर बहुतै मिलनसार, मिजासिलो बानी र डण्डीफोरले भरिएको हँसिलो थियो उनको मुख ।’र, त उनले हाँसी-हाँसी नै स्वीकारे फाँसीको सजाय । गौतम लेख्छन्, ‘त्यसपछि दशरथ चन्दलाई अंश सर्वस्वसहित फाँसीको सजाय सुनाइयो । प्रत्युत्तरमा छाती फुलाइ ‘फाँसी क्या चीज है ?’ भनी ठूलो–ठूलो स्वरले हाँसीअगाडि बढेर सजाय सुनेर पछाडि फर्किए ।’

दमनराज तुलाधरका अनुसार पनि चन्दले ‘ज्यान सर्वस्व’को फैसला छाती फुलाएर हुंकार गर्दै स्वीकारेका थिए । टंकप्रसाद आचार्यलाई आजीवन कारावासको सजाय सुनाइएपछि व्यंग्य गर्दै चन्दले प्रश्न गरेका थिए, ‘कसको जीवनभर ? जुद्ध शमशेरको जीवनभर ?’

जुलियाको प्रेम निशानी 

फाँसीको सजाय सुनाइएका चारमध्ये तीन जनाको परिवार काठमाडौंमै थियो । तर, चन्दको भने कोही थिएन । सुदूरपश्चिममा प्रचलित देउडा गीत छ, ‘टोपी मैली, धोती मैली धोइदिन्या कोई छैन । परदेश मरन्याको रोइदिन्या कोई छैन ।’ त्यस्तै, चन्द मारिँदा उनका लागि रोइदिने काठमाडौंमा कोही थिएन । त्यसैले त, उनले आफू थुनिएका ठाउँको कोठा सफा गर्न आउने राममाया च्यामिनीलाई आफू मर्दा रोइदिनु भनेका थिए । गौतम लेख्छन्, ‘मेरा साथीहरूलाई मारेपछि रुने उनीहरूका आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही पनि छैनन् । त्यसैले म मरेपछि तिमी रोइदेउ है राममाया....।’

आजन्म कारावास सजाय पाएका आफ्ना साथीहरूलाई उनले आफू भूत बनेर पनि राणाहरूलाई सताउने वाचा गर्दै भनेका थिए, ‘तुम लोग त जिए हो दोस्त, काम करो । हम तो चले हि जाएङ्गे । लेकिन फिर भी भूत बनकर यिन लोगोंको सताएगें।’ फाँसीको सजाय सुनेपछि पनि चन्द गंगालाल श्रेष्ठलाई सान्त्वना दिन्थे । ११ माघमा गंगालालले अन्तिम पटक आफ्नो परिवारलाई भेटेपछि दशरथ चन्दले छाती लगाएर चिउँडो समातेर टाउको उठाए । उनको अनुहार हेरेर गम्किँदै ‘स्याबास मेरो भाइ कहिल्यै रुन्न’ भनेका थिए ।

अनि, १४ माघ मध्यरातमा जेलबाट निकालेर १५ माघ रातको साढे १ बजेतिर दशरथ चन्दलाई र २ बजेतिर गंगालाललाई शोभा भगवतीमा गोली हानेर मारे ।’ १५ माघ बिहान मानिसहरूले कोखा, तिघ्रा र छातीमा गोली लागेका चन्दको ज्यानमा सल जसरी ओढेको डम्बरकुमारी खास्टो देखे । चन्द र जुलियाको प्रेमको आखिरी निशानी थियो त्यो ‘डम्बरकुमारी खास्टो’ ।

चन्द जुलियाको प्रेममा कतिसम्म समर्पित थिए भने बहादुर शमशेरले आफ्नो छोरीसँग विवाह गर्ने प्रस्ताव गर्दा पनि उनले इन्कार गरेका थिए । चन्दको जुलियासँगको प्रेम सर्मपणबारे गौतम लेख्छन्, ‘बहादुर शमशेरले पनि उनलाई दरबारमा राखी आफ्नी छोरी दिने विचारले बोलाएका थिए । तर, रुद्र शमशेरकहाँ बस्दा नै उनकी छोरी जुलियासँग प्रेम बसिसकेकाले उनी बहादुर शमशेरकहाँ गएनन् ।’

वि.सं. १९९० मा जुद्ध शमशेरले रुद्र शमशेरको परिवारलाई पाल्पा धपाएपछि पनि चन्द र जुलियाबीच पत्र संवाद भइरहन्थ्यो । वि.सं १९९५-९६ तिर जुलियाले आफ्नो प्रेमको निशानी स्वरुप चन्दलाई ‘डम्बरकुमारी खास्टो’ उपहार पठाएकी थिइन् । तर, दुर्भाग्य खास्टो पठाएको केही दिनमै क्षयरोगका कारण जुलियाको मृत्यु भयो । प्रेमिकाको वियोगमा विक्षिप्त भएका चन्दले १३ दिनसम्मै जुलियाको जुठो बारेर बसे । 

‘खास्टो उपहार पाएको केही दिनपछि नै जुलियाको मृत्यु भएको खबर दशरथ चन्दले थाहा पाए,’ गौतम लेख्छन्, ‘त्यतिखेर उनी आफ्नो मामा घर (कान्छी आमाको माइतीघर) पकनाजोलमा बस्थे । जुलियाको मृत्यु खबर थाहा पाएपछि उनले १३ दिनसम्मै जुठो बारेका थिए ।’ मारिनुअघि जुलियाको अन्तिम निशानी ओढेर दशरथ चन्द प्रेम र देश, दुवैका लागि अमर बने । सिलापत्रबाट