साढे १३ लाखको वर्गीकृत फोहर बेच्दै धनगढी उपमहानगर
2024/02/04, 3:29
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकाले पहिलोपटक साढे १३ लाखको वर्गीकृत फोहर बिक्री गर्नलागेको छ । यो उपमहानगरले धनगढीको वडा नम्बर २ मा एक बिघा जग्गा भाडामा लिई वर्गीकृत फोहर संकलन गर्नेगरेको छ ।

वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा तिर्ने गरी भाडामा लिएको उपमहानगरले सो जग्गामा सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरेको छ । सने जग्गामा १९ लाखमा उपकरण तथा संरचना निर्माण गरिएको छ । उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गाीकरण केन्द्र सञ्चालन गर्दै आएका छन् ।

गत बैशाखबाट सञ्चालनमा आएको केन्द्रले १३ लाख ५१ हजारको फोहर बिक्रीका लागि तयार पारेको छ । धनगढी उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले फोहर बिक्रीका लागि बोलपत्र आह्वान गरिएको बताए । अवस्थीले भने, ‘२ जनाले उपकरण चलाउनुहुन्छ । १० जना महिला हुनुहुन्छ । उहाँहरुबाटै फोहरको सूक्ष्म वर्गीकरण हुन्छ ।’

उपमहानगरले बजार क्षेत्रका नौवटा वडाहरुबाट संकलन गरिएको फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार पार्ने गरेका छन् । धनगढी उपमहानगरले सूक्ष्म वर्गीकरण गरिएको नकुहिने फोहर बिक्रीका लागि ३० दिनको बोलपत्रको आह्वान गरेको छ ।

उपमहानगरपालिकाले न्यूनतम १३ लाख ५१ हजार ३९५ रुपैयाँको फोहोर बिक्री गर्न बोलपत्र आह्वान गरेको हो । उपमहानगरपालिकाले पहिलोपटक फोहर बिक्रीबाट १३ लाख ५१ हजार आम्दानी गर्दैछ ।शाखा प्रमुख अवस्थीले पहिलोपटक वर्गीकृत फोहरलाई बिक्री गर्न प्रक्रिया अगाडि बढेको बताए । उपमहानगरले धनगढी बजार क्षेत्रबाट संकलन भएको फोहर नदी किनार तथा जंगल क्षेत्रमा थुपार्दै आएको थियो । तर, पहिलो पटक सूक्ष्म वर्गीकरण केन्द्रबाट भएको आम्दानीले केन्द्रका कर्मचारी, विद्युत महशुल्क, फोहर संकलन गर्ने कर्मचारी तथा गाडीमा लाग्ने इन्धनको खर्चको जोहो गर्ने योजनामा उपमहानगरपालिका छ ।

स्रोतबाटै नकुहिने र कुहिने फोहर वर्गीकरण गर्न थालेको उपमहानगरपालिकाले बिक्रीसमेत गर्दैछ । झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, कचरा, क्यान, आल्मुनियम, टायर र ट्युब लगायतका नकुहिने फोहर बिक्रीका लागि सूचना जारी गरिएको छ ।धनगढी बजार क्षेत्रका वडाहरुबाट मात्र दैनिक २० देखि २५ टनसम्म फोहर संकलन हुँदै आएको छ । कुहिने फोहोरबाट मल तथा बायो ग्याँस उत्पादन हुँदै आएकोमा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिँदैछ ।