एमाले कैलालीको अध्यक्षमा तीन जनाको भीडन्त, मतदान आज हुँदै
2024/02/22, 9:52
 
ss

 नेकपा एमाले कैलालीको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको हो । एमाले कैलालीको जिल्ला अधिवेशनमा बुधबार नै मतदान हुने भनिए पनि अन्तिम नामावली ढिला गरी सार्वजनिक भएपछि मतदान रोकिएको हो ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुर्गाप्रसाद जोशी, यज्ञराज ढुङ्गाना र डेजी पाण्डेले उम्मेदवारी दिएका छन् । जिल्ला कमिटी सदस्य कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । रानाले पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएका हुन् ।

उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी रहेका छन् ।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चुडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल रहेका छन् । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।

सुखडमा जारी अधिवेशनको यही फागुन ६ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । ओलीले सहमतिको प्रयास गर्न निर्देशन दिँदै नेताहरूलाई नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया थाल्न भनेका थिए । तर, बुधबारसम्म सहमतिको प्रयास जारी राखेका नेताहरूले सहमति नहुने अवस्था आएपछि मतदान गर्नुपरेको जनाएका छन् ।

मतदान आज दिउँसो १२ बजेदेखि साँझ ५ बजे सम्म हुने प्रमुख निर्वाचन अधिकृत मान बहादुर जोराले बताए