सुदूरपश्चिम प्रदेश सरकार गठनमा नागरिक उन्मुक्ति निर्णायक
2024/03/04, 4:40
 
ss

कांग्रेस सहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बनेको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार गठनमा भने नागरिक उन्मुक्ति निर्णायक हुने भएको छ । नागरिक उन्मुक्ति जता ढल्कियो उसैको प्रदेश सरकार बन्ने भएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छन् ।

माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ । त्यस अवस्थामा नागरिक उन्मुक्ति अनिवार्य हुन्छ । त्यही गणितलाई मध्यनजर गर्दै नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी रहेको बताइसक्नु भएको छ । अहिले मुख्यमन्त्रीको रुपमा नेपाली काँगेसका नेता कमलबहादुर शाह रहनुभएको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्ता गठबन्धनप्रति आफू सकारात्मक भएको बताउनुभएको छ । केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने देखिएको छ । जस अनुसार सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो । अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको छ ।

अब फेरिएको समीकरणमा भने नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन् । माओवादीका संसदीय दलका नेता मानबहादुर धामी नयाँ मुख्यमन्त्री बन्ने चर्चा पनि चल्न थालेको छ । पूर्व वनमन्त्री समेत रहनु भएका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको नेता बन्नुभएको थियो ।

नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भएमा भने संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बन्ने चर्चा रहेको छ । 
भिडियो एफटिपीमा पठाईएको छ ।