सांसद प्रेम आलेद्धारा सार्वजनिक स्थलमै पदाधिकारी र कर्मचारीको अपमान (भिडियो सहित)
2020/07/07, 5:00
 
prem ale

प्रतिनिधिसभा सदस्य प्रेम आलेले सर्वसाधारणलाई अपशब्द प्रयोग गरी अपमान गरेका छन् । कैलाली जिल्ला स्थित विभिन्न सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन कार्यक्रमको स्थलगत अनुुगमन गर्न पुगेका सांसद आलेले ‘टाउको तल गर म को हुँ चिन्छस् ?’ भन्दै अपमान गरेका हुन् । 
वैज्ञानिक वनको नाममा व्यापक फडानी भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले संसदीय छानबिन उपसमिति बनाएको छ । उपसमितिका सदस्य रहेका सांसद आलेले अनुुगमनका क्रममा सामुदायिक वनका पदाधिकारी र तल्लो स्तरका वन कर्मचारीलाई अपशब्द प्रयोग गरेको तथा धम्क्याउँदै हिँडेका हुन् ।

डोटीबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद आलेले छानबिन समितिका संयोजक प्रदीप यादव सहितको टोली सोमवार कैलाली पुगेको थियो । समितिले कैलालीको महोन्याल गाउँपालिका–३ फलेबिसौना पुगेको थियो । सांसद आलेले जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपार्नु झपारे । आफ्नो कार्यशैलीले सांसद आलेले आफ्नै सांसद पदको गरिमाका धज्जी उडाएको बताइएको छ । सामुदायिक वनका अध्यक्ष गिरीले आफूलाई सांसद आलेले झपारेको कुरो सुनाउँदै भने, ‘म को हुँ, चिन्छस् । के मुखमा के हेरेको टाउको तल गर । तँ साले बढ्ता कुरा गर्छस् । हामी माननीय हुँ मेरो मुखमा हेरेर कुरा गर्ने तँ को होस् ? तेरो वनमा कुन ठेकेदारको लगानी छ भन ?’

सरकारले नै लागू गरेको वैज्ञानिक वन कार्ययोजना अनुसार काम गरिरहेको बताउँदै उनले सबैको सामु सांसद जस्तो व्यक्तिले अमानवीय ढंगले झपारेको बताए । दलबल सहित अनुगमन गर्न पुगेका उनले गाली गलौच सहित धम्कीको शैलीमा उत्रिएपछि वनका पदाधिकारी र वन कर्मचारी त्रसित भएका छन् । नाम नभन्ने शर्तमा वनका एक कर्मचारीले भने, ‘मेरो मान्छेको फाइल फालेर अरुलाई ठेक्का दिने ? तिमीहरू सबैलाई देखाइदिन्छु । दुइ तिहाइको सरकार छ, म को हुँ चिन्छस् ?’

उपसमितिले तथ्य कुराको छानबिन गर्ने हो तर उनी सर्वसाधारणलाई धम्क्याउँदै, गालीगलौच गर्दै हिँड्नु सांसदको गरिमा विपरित रहेको वनका कर्मचारी बताउँछन् । हाल वैज्ञानिक वनको अनुगमनमा आएका सांसद आलेलाई उल्टै वन माफियाको आरोप लाग्दै आएको छ ।