छिमेकीप्रति भारतको हेपाहा व्यवहार
2020/05/13, 11:30
 
korona

भारतले नेपाली भूमि दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माण गरेकोे विरोधमा सुदूरपश्चिमका विभिन्न जिल्लामा सोमबार प्रदर्शन गरिएको छ। कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका करिब एक दर्जन स्थानमा लकडाउनका बीच राष्ट्रिय जनमोर्चाको अगुवाइमा प्रदर्शन गरिएको हो। छिमेकीमाथि हेपाहा व्यवहार गरेको भन्दै प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला पनि जलाए। 


जनमोर्चा लगायत सुदूरपश्चिवासीले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विषयलाई अन्तराष्र्टि«यकरण गरी आफ्नो जग्गा फिर्ता लिन सरकारसँग माग गरेका छन्।  दार्चुलामा पर्ने नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गरिसकेको छ। भारतले अतिक्रमण गरेको लिपुलेक भएर मानसरोवर जाने सडक बनाएपछि चर्को विरोध भएको छ। सुदूरपश्चिमवासीले सरकारसँग चाँडै यस मुद्दालाई अन्तराष्र्टि«यकरण गरेर आफ्नो भूभाग फिर्ता लिने वातावरण बनाउन माग गरेका हुन्। 

सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वको भू–भाग नेपालको हो। महाकालीको मुहान लिम्पियाधुरा भएकाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमा पर्छ। २०१८ सालको जनगणना, त्यस क्षेत्रका बासिन्दाले जमिनको मालपोत तिरेकोलगायत प्रमाणले सो क्षेत्र नेपालको भएको स्पष्ट छ । ‘कालापानी क्षेत्र नेपालको भएको स्पष्ट प्रमाण छ,’ राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले भने, ‘भारतले आफैं पनि विवादित क्षेत्र भनिरहेको ठाउँमा किन सडक बनायो ?’


भारतले गत कात्तिकमा कालापानीको भूभाग समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि भट्टको नेतृत्वमा ‘कालापानी हाम्रै हो अभियान’ पनि सञ्चालन गरिएको थियो। कालापानी अभियानकै क्रममा हामीले भारतले कालापानीमा सडक बनाइरहेको छ, रोक्नुहोस् भनेर सरकारसँग भन्दा कुनै मतलब नगरेको उनले बताए। ‘नेपाल सरकारले भारतसँग स्पष्ट अडान लिन सकिरहेको छैन, भारतसँग अडान लिएर आफ्नो भूमि फिर्ताका लागि पहल गर्न नसक्ने हो भने संयुक्त राष्ट्रसंघ र अन्तर्रा्ष्ट्रिय अदालतमा यो मुद्दा लैजानु पर्छ’, विरोध प्रदर्शनपछि धनगढी एनएन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै भट्टले भने, ‘आफ्नै भूभाग फिर्ता गराउन भारतसँग अडान पनि लिन नसक्ने र यस मुद्दालाई अन्तर्रा्ष्ट्रियकरण पनि गर्न नसक्ने हो भने योभन्दा लाजमर्दो विषय अरु केही हुँदैन ’ डोक्लाममा भुटान र चीनबीचको विवादमा भारतले अवरोध गर्दा चीनले रोकेको उल्लेख गर्दै उनले भारतले नेपाली भूभागमा सडक बनाउँदा पनि सरकार मौन बस्नुले लाचारीको पराकाष्टा भएको बताए। 


भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो भएको भन्दै धार्चुलादेखि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माण गर्नु नेपालप्रतिको हेपाहा प्रवृत्ति भएको माटो बचाऊ अभियानका संयोजक हेमबाबु लेखक बताउँछन्। ‘हामी हाम्रो माटो बचाउनका लागि प्राण त्याग गर्न पनि तयार छौं,’ उनले भने, ‘सुगौली सन्धिले नै लिपुलेक नेपालको भएको प्रमाणित गरेको छ तर भारतले आफ्नो भन्दै सडक बनाउनु गलत हो। यो नेपालको मात्रै नभई संयुक्त राष्ट्रसंघको पनि ध्यानाकर्षण हुने मुद्दा हो। ’ उनले सरकारले तुरुन्तै अन्तराष्ट्र्रिय अदालतमा गएर न्याय माग्नुपर्ने बेला आएको बताए। ‘अब सरकार यो या त्यो बहानामा अल्झिनु हुँदैन,’ उनले भने, ‘नेपाली भूमि फिर्ता गर्न सरकार अन्तराष्र्टि«य अदालतमा जानुपर्छ। ’ 

लिम्पियाधुरा–लिपुलेक–कालापानीलाई भारतले आफ्नो नक्सामा सामेल गरेकै बेला आफूहरुले कूटनीतिक पहल गर्नभन्दा सरकारले बेवास्ता गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले बताए। उनले भने, ‘त्यो बेला पनि सरकारले नसुनेझैं ग¥यो, त्यसको परिणाम अहिले भारतले सडक नै निर्माण गरेर उद्घाटन गरिसक्यो। ’ यसअघि पनि नेपाल र भारतबीचका तमाम समस्या कूटनीतिक प्रयासबाट सफल भएको भन्दै उनले भने, ‘कूटनीतिक प्रयासबाट समस्याको समाधान हुन्छ, तर त्यो प्रयास गर्न सरकार अग्रसर हुनुपर्छ। ’ 


भारतले नेपालको सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलाको लिपुलेक–लिम्पियाधुरा–कालापानीमा अतिक्रमण गरी त्यहाँ आफ्नो सेना राखेपछि विरोध हुँदै आएको छ। अहिले भारतले त्यो भूभागमै सडक निर्माण गरेर उद्घाटन गरिसकेको छ। ‘यो घाउले हामीलाई वर्षौंदेखि दुखाइरहेको थियो,’ दार्चुलाका बलदेव भट्टले भने, ‘अहिले त्यो घाउमा नुनचुक छर्केजस्तो भयो। ’   भारतले नेपाली भूभाग लिपुलेकमा एकलौटी रुपमा सडक निर्माण गरेर उद्घाटन गरेको भन्दै कैलालीको धनगढी, अत्तरिया, लम्की र टीकापुर बजारमा भारत विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ। यसैगरी कञ्चनपुरको महेन्द्रनगर, शुक्लाफाँटा नगरपालिकाको दैजी, बैलौरी, डडेल्धृुरा र डोटीलगायत स्थानमा पनि विरोध प्रदर्शन गरिएको छ। 


राष्ट्रिय जनमोर्चाको अगुवाइमा करिब एक दर्जन ठाउँमा ‘लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै  प्रदर्शन गरिएको हो। प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला पनि जलाए।   डोटी, टीकापुुर लगायत स्थानमा मोदीको पुतला बनाएर र धनगढीमा फोटो जलाइएको हो। महेन्द्रनगर, अत्तरिया, लम्कीलगायतमा प्रहरीले मोदीको पुतला जलाउनुअघि नै खोसेका थिए। पुतला खोसेपछि नाराबाजी गर्दै कोणसभा गरिएको थियो। अत्तरियामा आयोजित कोणसभालाई राष्ट्रिय जनमोर्चाका नेता हरिकृष्ण पाण्डे, नन्दराज पाण्डे र नन्दराज भट्टले सम्बोधन गरेका थिए। 


यसअघि नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेको थियो। विरोधमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भारतले मिचेको नेपाली भूभाग फिर्ता लिन सरकारसँग माग गरे। उनले भने, ‘सरकारले चाँडोभन्दा चाँडो कूटनीतिक पहल गरेर भारतले कब्जा गरेको भूमि फिर्ता लिनुपर्छ। ’ भारतले नमानेमा सरकारले यसलाई अन्तराष्र्टि«यकरण पनि गर्नुपर्ने उनले बताए। ‘भारतले फिर्ता गर्न नमाने हामीले यो मुद्दालाई अन्तराष्र्टि«यकरण गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि पनि सरकार तयार भएर बस्नुपर्छ। ’


भारतिय रक्षामन्त्री राजनाथ सिंहले गत वैशाख २६ गते) भिडियो कन्फरेन्सबाट सो सडक उद्घाटन गरेका थिए ।   नेपाली भूभाग लिपुलेक हँुदै तिब्बतको मानसरोवर जोड्ने सो सडक भारतले १२ वर्षअघिदेखि निर्माण सुरु गरेको थियो। दाुर्चलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भारतको धार्चुलादेखि मानसरोवरसम्म जोड्ने सो सडक सन् २००८ मै निर्माण सुरु गरेको बुझिन आएको बताए। उक्त सडकको करिब १७ किलोमिटर नेपाली भूमिमा रहेको उनले बताए। 


भारतले सन् १९६२ मा कालापानीमा सेनाका शिविर राखेपछि नेपाली भूमि अतिक्रमण गर्न थालेको हो। १९६२ मा भारत र चीनबी युद्ध हुदाँ नेपालले भारतलाई कालापानीमा सेना राख्न अनुमति दिएको थियो। कालापानी सामरिक रुपमा निकै महत्वपूर्ण मानिन्छ।