मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डको निर्माण कछुवाको गतिमा 
2020/07/07, 6:44
 
six lane

सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल– अत्तरिया ‘छ लेन’ सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ । तीन वटा प्याकेजमा निर्माणाधीन रहेको यो १४ किलोमिटर लामो सडक आयोजनाको पहिलो प्याकेज अन्तर्गतको काम आगामी मङ्सिरमा र दोस्रो तथा तेस्रो प्याकेज अन्तर्गतको काम आगामी माघ महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ । 

मोहना पुलदेखि धनगढीको ट्राफिक चोकसम्म पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो र तेस्रो प्याकेजमा राखेर निर्माण भइरहेको छ । यो सडक निर्माण पूरा गरिसक्नुपर्ने दुई वर्षको अवधिमा निर्माण कार्य पूरा हुन नसकेपछि पछिल्लो पटक निर्माण अवधि केही महिना थपिएको छ । आयोजनाका प्रमुख होमबहादुर एसीले हाल सडकमा कालोपत्र गर्ने लगायतका कार्य भइरहेको बताए । सडकमा पर्ने स–साना पुलेसाको निर्माण पूरा भइसकेकामा साविकको गेटा नजिक रहेको मनहरा नदी र सुनिखोलामा पर्ने पुल निर्माण ठेक्काको प्रक्रिया गर्ने भने अझै शुरु हुन सकेको छैन् । 

“बन्दाबन्दीका कारण समयमै पुलको ठेक्का गर्ने कार्य अघि बढ्न सकेन”, आयोजना प्रमुख एसीले भने, “केही महिनापछि ठेक्काको काम पनि अघि बढाउन लागिएको छ ।” बन्दाबन्दीका कारण भएको मजदूरको अभावसँगै सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। बन्दाबन्दीले लक्ष्यअनुसार निर्माण कार्यलाई गति दिन नसकिए पनि यो अवधिमा धुलाम्य र हिलाम्य सडक हुने समस्या समाधान गरिएको एसीले बताए । बन्दाबन्दी सुरु भएसँगै घर गएका अधिकांश कामदार अझैँ नफर्किएको जनाईएको छ।

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये शहरी क्षेत्रमा ‘छ लेन’ र ग्रामीण क्षेत्रमा ‘चार लेन’को सडक निर्माणाधीन छ । सडक क्षेत्रभित्र बनाइएका घर लगायतका संरचना भत्काउने विषयमा शुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माण कार्य अघि बढाउन ढिलाइ भएको थियो । यस बाहेक साविकको सडक क्षेत्रका रुख कटानी र बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि निर्माणको काम अघि बढाउन समय लागेको थियो। यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन । 

सुरुको अवस्थामा सडक आयोजना कार्यालयका प्रमुखको पटकपटक सरुवा हुने भई कामको समयमै रेखदेख एवम् निर्माणमा असर पुग्दा निर्माणमा समेत ढिलाइ भएको थियो । यो सडकको लागत इष्टिमेट एक अर्ब ६८ करोडको रहेको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवम् स्तरोन्नतिका लागि पहिलो पटक यति ठूलो बजेट रकम सहित छ लेन सडक निर्माण कार्य भइरहेको हो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी शहर धनगढी प्रवेश गर्ने एक मात्र मुख्य यो सडकमा दैनिक साना ठूला तीन हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको छ ।