बझाङ उपनिर्वाचन : यस्तो छ विगतको अङ्क गणित
2024/03/30, 1:55
 
ghfthy

बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै मैदानमा उत्रिने तयारीमा जुटे पनि अन्तिम घोषणा हुन भने बाकी छ ।

यस निर्वाचन क्षेत्रमा विगतदेखि मुख्यतया दुई दल कांग्रेस र एमालेको दबदबा रहँदै आएको छ । यसअघि कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि हाल उपनिर्वाचन भई रहेको छ ।


अघिल्लो निर्वाचनमा कांग्रेस यस निर्वाचन क्षेत्रमा माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।  माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । भने राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।


अहिले एमालेबाट जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी र एकीकृत समाजवादीबाट दिलबहादुर सिंह टिकट लिएर बझाङ गइसकेका छन् ।कांग्रेसले चैत २० मा उम्मेदवार टुङ्गो लगाउने छ भने माओवादीले उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार चयन गर्न सकेको छैन ।यद्यपि सत्ता साझेदार एमाले, माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार खडा गर्ने सम्भावना कायमै छ । एकीकृत समाजवादीले उपनिर्वाचनमा बझाङलाई बटम लाइन बनाएको छ ।बझाङको प्रदेश सभामा दिलबहादुर सिंहलाई समर्थन गरे वैशाख १५ मै हुने इलाम–२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने एकीकृत समाजवादीको सर्त छ ।


उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच चैत १२ मा छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष नेपालले बझाङ एकीकृत समाजवादीले पाउनुपर्ने अडान राखेका थिए । एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवार ‘ब्याक’ नहुने जवाफ दिएपछि एकीकृत समाजवादीले उम्मेदवार नै खडा गरिसकेको छ ।२०१५ को आम निर्वाचनमा बझाङको निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भएको थियो ।


बझाङ प्रदेश सभा–१ मा समानुपातिकतर्फ एमालेले १३ हजार, कांग्रेसले १० हजार, माओवादीको ३५ सय, एकीकृत समाजवादीको ४ हजारको हाराहारीमा मत पाएको दलहरूको दाबी छ । यद्यपि निर्वाचन आयोगले बझाङ प्रदेश सभा १ र २ को समानुपातिक मत परिणाम छुट्टाछुट्टै सार्वजनिक गरेको छैन । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा करिब २५ सय नयाँ मतदाता थपिएका छन् ।