संवादवाट विवादको समाधान खोज्न पार्टी नेतृत्वलाई नेकपा संसदीय दल सुदूरपश्चिम सभाको आग्रह 
2020/07/07, 8:30
 
nekapa

नेपाल कम्युनिष्ट पार्टी संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले संवादबाट पार्टी नेतृत्व बीचको विवादको समाधान खोज्न आग्रह गरेको छ । नेकपा संसदीय दलको मंगलावर बसेको बैठकले नेकपाको नेतृत्व तहको विवाद र कलहले पार्टी र जनभावनामा गम्भीर क्षति हुने निश्चित भएको निष्कर्ष निकाल्दै संवादबाट विवादको समाधान गरी एकताबद्ध भएर अघि बढ्न अध्यक्षद्धयलाई आग्रह गरेको हो ।

बैठकपछि नेकपा संसदीय दलले विज्ञप्ती जारी गर्दै नेपाली जनताको युगौदेखिको त्याग र बलिदानीबाट प्राप्त उपलब्धी नै गम्भीर खतरामा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पार्टी र सरकारलाई थप जिम्मेवार हुन सार्थक संवादबाटै एकताबद्ध पार्टी र लोकप्रिय सरकार निर्माणका लागि पार्टीका अध्यक्षद्धय तथा शिर्ष नेताहरुको ध्यानाकर्षण गरेको छ  । सडक र सामाजिक सञ्जाल मार्फत आरोप प्रत्यारोप तथा अनर्गल प्रचार नगर्न पनि नेकपा संसदीय दलले आग्रह गरेको छ ।

पार्टी एकतामा आँच पुग्ने गतिविधि रोक्न सबै पक्षलाई आग्रह गर्दै नेकपा संसदीय दलले सुदृढ एकता कायमका लागि जुट्न समेत नेतृत्वलाई आग्रह गरेको छ । विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी संसदीय दल सुदूर पश्चिम प्रदेश सभाका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल बहादुर रावल लगायतका ३७ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् ।