सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षीको नाराबाजी विरोध, सत्तापक्ष पेलेरै बजेट माथि छलफल गर्दै
2020/07/08, 7:20
 
pradesh sabha

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको नाराबाजीका बीच सत्तापक्षले आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यक्रममाथि छलफल गररहेको छ । सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफलको कारवाही अगाडी बढाउना साथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्य रोष्ट्रम अगाडी पुगेर नाराबाजी गरेका थिए । नाराबाजी भइरहँदा सत्तापक्षका सदस्य दीर्घबहादुर सोडारीले विरोध गर्न पाउने कुरा जायज भए पनि सभामुखतर्फ पिठ्यूँ फर्काएर विरोध गर्न नपाइने भन्दै नियमापत्ति गरे ।

नाराबाजीकै बीच सभामुखले बजेट कार्यक्रममाथि धारणा राख्न सत्तापक्षका हर्कबहादुर कुँवरलाई समय दिए । उनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको भन्दै समर्थन जनाएका थिए । उनको धारणापछि सभामुखले बैठकको कारवाही अन्त्य गरेका थिए । बजेटमाथिको छलफल वुधवार विहान राखिएको छ । वुधवार पनि प्रतिपक्षीको विरोधकै बीच बजेटमाथि छलफल अगाडी बढाईने भएको छ । 

यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पारित गरिएको थियो । प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गरिएकामा सरकारले यी मागको सुनुवाइ नगरेर बहुमतको दम्भ देखाउँदा समस्या देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए ।

प्रतिपक्षीले राखेका माग सुनुवाइ गर्न पूर्ण प्रतिबद्धता नगरिएसम्म बैठकमा आफूहरुको विरोध जारी रहने उनले बताए । मागको सुनुवाइ गरी प्रदेशसभा बैठकलाई पुनः सञ्चालन गराउन सरकार र प्रतिपक्षी दलका सदस्यबीच पटक पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । राष्ट्रिय जनता पार्टीका सदस्य कृष्णबहादुर चौधरीले सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँटमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको  ५३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएकाले वाध्य भएर आफूहरुलाई विरोध गर्नु परेको बताए ।

५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य छन् ।