गौरीफन्टा बाहेक सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारसम्मका लागि बन्द
2024/04/17, 6:21
 
ss

 भारतसँग सीमा जोडिएका सुदूरपश्चिमको गौरीफन्टा बाहेकका सबै सीमा नाका बन्द भएका छन । भारतको उत्तराखण्ड प्रदेश अन्तर्गतका लोकसभा सीटहरुमा मतदान हुने भएकाले सीमा नाका बन्द भएका हुन ।

बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका सुरक्षा अधिकारीहरुले जनाएका छन । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । 

उनले मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएको बताए । अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ ।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । तर ईमरजैन्सी साधनहरु भने दुबै देशका अधिकारीहरुको समन्वयमा चल्न पाउनेछन ।

उत्तराखण्डमा भारतको लोकसभा निर्वाचन १९ अप्रेल अथवा बैशाख ७ गते छ भने गौरीफन्टासँग सीमाना जोडिएको क्षेत्रमा १३ मईमा निर्वाचन हुनेछ । भारतमा विभिन्न चरणमा लोकसभाको चुनाव भईरहेको हो ।