समाजवादीका सोडारी बने सुदूरपश्चिमका मुख्यमन्त्री, सपथ पछि पदभार ग्रहण
2024/04/19, 2:46
 
ss

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री बनेका छन । संविधानको धारा १६८९२० बमोजिम सोडारी मुख्यमन्त्री बनेका हुन । प्रदेश प्रमुख नजिर मियाँले विहीबार नै सोडारीलाई पद तथा गोपनीयताको सपथ खुवाए । उनले आजै पदभार पनि ग्रहण गरेका छन । 

सोडारीले नेकपा माओवादीका सभामुख सहितका ११ , एमालेका १०, समाजवादीका ४, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी ३३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । तर उनले रेशम पक्षका ५ जना उन्मुक्ति सांसदको समर्थन भने नपाउने सम्भावना बढेको छ ।

विहीबार पनि उन्मुक्तिका २ जना प्रदेश सभा सदस्य कैलाश चौधरी र टीका थापालाई मन्त्रीको सपथ खुवाउने तयारी थियो । समर्थन गर्नु अघि कैलाश चौधरीलाई भौतिक पुर्वाधार विकास मन्त्रालय दिने र टीका थापालाई बिना विभागीय मन्त्री बनाएर सपथ खुवाउने भनिएको थियो तर सपथ ग्रहणका बेला दुबैलाई बिना विभागीय मन्त्री बनाउने भएपछि दुुबै जना मुख्यमन्त्रीको सपथग्रहण समारोह बहिस्कार गरेर बाहिरिएका थिए ।

‘कैलाश चौधरीलाई पुर्वाधार विकास मन्त्रालय दिने र टीका थापालाई बिना विभागीय मन्त्री बनाएर सपथ बनाउने सहमति भएको थियो, सपथग्रहण समारोहमा दुबैलाई बिना विभागीय बनाउने थापा पाएपछि हामी बाहिरिएका हौं’ नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डितले भने ।

उता सोडारीको विकल्पमा अर्को ब्यक्ति मुख्यमन्त्री बनाउन भन्दै अडानमा रहेको नेकपा  एमाले पनि तत्काल सरकारमा सहभागि नहुने भएको छ । एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले मुख्यमन्त्रीमा समर्थन गर्ने तर तत्काल सरकारमा नजाने निर्णय भएको बताए ।
‘हामीले मुख्यमन्त्रीमा समर्थन गरेका छौं, तर तत्काल सरकारमा नजाने भन्ने संसदस्य दलको निर्णय भएको छ’ रावलले भने । सत्ता गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्र पनि विहीबार सरकारमा सहभागी भएन । 

माओवादीमा मन्त्रीमा को को जाने भन्ने टुंगो लागि नसकेकाले उ सरकारमा नगएको हो । माओवादीले गिरिराजमणी पोखरेललाई सुदूरपश्चिमको पार्टी ईञ्चार्ज तोकेको थियो, पोखरेल पनि धनगढी आएका छन । शुक्रबार माओवादीको बैठकले मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ ।