पहिलो पटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म
2024/04/19, 3:00
 
ss

कैलाली निर्वाचन क्षेत्र नंं ४ ख बाट निर्वाचित दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा बिहीबार नियुक्त भए । मुख्यमन्त्रीको कुर्सीसम्म आइपुग्दा उनको राजनीतिक जीवन भने त्यति सहज भने भएन । उनी बेलाबखत विवादित समेत बने । तर जनताले भने दुई पटक उनलाई प्रदेशसभाको सदस्यमा निर्वाचित गराए ।

पहिलो पटक नेकपाबाट २०७४ मा निर्वाचित सोडारी मुख्यमन्त्री त्रिलोचन भट्ट हुँदा सामाजिक विकास मन्त्री भए । उनी २०७४ माघदेखि २०७५ कात्तिकसम्म सामाजिक विकास मन्त्री रहे । पार्टीको कारबाहीमा परेपछि उनी २०७५ कात्तिक २७ गते मन्त्रीबाट बर्खास्त गरिए । तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि तत्कालीन मुख्यमन्त्री भट्टले उनलाई बर्खास्त गरेका थिए । मन्त्री भएपछि अनुचित आर्थिक लाभ लिएको, योजना छनौटमा आफू निकट कार्यकर्तालाई ध्यान दिएको, अपराधमा संलग्नलाई संरक्षण गरेको, शक्तिको दुरुपयोग गरेको, महिलामाथि दुर्व्यवहार गरेको लगायतका आरोप उनीमाथि लागेको थियो ।

तीनै कारण पनि मुख्यमन्त्रीमा दाबी पेस गरिरहँदा नेकपा एमालेले उनको वैकल्पिक पात्र खोज्न समाजवादीलाई दबाब दिएको बताइन्छ । तर समाजवादीको मुभले केन्द्रीय सत्ता गठबन्धनमै असर पर्न थालेपछि एमाले उनीप्रति नतमस्तक् भयो । अछामको मङ्गलसेन नगरपालिका–१४ मा जन्म भई कैलालीको गौरीगङ्गा नगरपालिका–५, अण्डैया घर भएका सोडारी जनतामाझ भने लोकप्रिय मानिन्छन् । फलतः उनी लगातार दुई पटक निर्वाचित भएका हुन् । स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका सोडारीको राजनीतिक जीवन भने २०५१ सालमा नेकपा एमाले निकट अनेरास्ववियुको कैलाली बहुमुखी क्याम्पस, प्रारम्भिक कमिटी उपाध्यक्षबाट भएको हो । उनी पछि अनेरास्ववियुको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य समेत भए । एमालेको जिल्ला कमिटी सदस्य हुँदै उनी २०६३ मा जिल्ला सचिवालय सदस्य र २०६६ मा जिल्ला कमिटी सचिव र २०७० मा जिल्ला कमिटी अध्यक्ष समेत बने ।